अमेरिका । अमेरिकाको भ्रमणमा रहेका पर्यटन सचिव सुरेश अधिकारीलाई त्यहाँका नेपालीले स्वागत गरेका छन् ।
समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटनदूत तथा फिप्नाका उपाध्यक्ष छोन्जोन लामा, प्रवासी नेपाली एकता मन्चका कोषाध्यक्ष उमा लामा, किरात याक्थुङ चुम्लुङका सभापति तथा हेलो अमेरिका अनलाइन टिभीका प्रस्तोता सुमन थाम्सुहाङ तथा सदस्य सम्राट किराती, पत्रकार शान्तिराज राई, सन्तोष राई, युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राई, फिप्नाका सभामुख सुवर्ण कुमार शाक्य र समाजसेवी कुमार श्रेष्ठ, अन्जान श्रेष्ठ र विभिन्न संघसंस्थाको प्रतिनिधिको उपस्थितिमा सचिव अधिकारीलाई जेएफके एयरपोर्टमा भव्य स्वागत गरिएको थियो । त्यसैगरी ११ अक्टोबरका दिन अधिकारीको प्रमुख आतिथ्यतामा न्युयोर्ककको क्विन्समा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
क्विन्सको डिएक्सएन एभरेष्ट सेन्टर नजिक रहेको घ्यालसुम्दो सेवा संस्थाको कार्यालयमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष, युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका संस्थापक अध्यक्ष तथा न्युह्याम्पसायरका लागि नवनियुक्त सद्भावनादूत शिव कुमार राईको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
न्युयोर्कका लागि नेपाल सरकारका सद्भावना पर्यटन दूत रहेका केशवराम राईले कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपालमा पर्यटक भित्राउन पहल गर्ने तथा नेपाली उत्पादनको बजार खोज्ने न्युर्योक स्टेटका मेयर इरिक एडमलाई नेपाल भ्रमण गराउन मेयरका एसियाली मामिला सल्लाहकार नवराज केसीमार्फत् पहल गर्ने बताए ।
कार्यक्रममा मेयरका सल्लाहकार केसीले मेयरको नेपाल भ्रमणका लागि आफुले पहल गरेको र मेयरले समेत पुन: नेपाल भ्रमणमा चासो देखाएको बताउँदै कोरोना महामारीका बेला सद्भावनादूत केशवराम राईले नेपाली समुदायमा पुर्याएको सहयोगको खुलेर प्रसंसा गरेका थिए । त्यस्तै प्रमुखअतिथि पर्यटन सचिव सुरेश अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र लुम्बिनी भ्रमणपछि भारतीय पर्यटक नेपाल आउने क्रम बढेको बताउँदै न्युर्योकका मेयरलाई नेपाल भ्रमणमा लैजान सके अमेरिकी पर्यटकको संख्या पनि बढ्ने विस्वास व्यक्त गरे । सचिव अधिकारीले कोरोनाका कारण नेपालमा पर्यटक आगमनमा कमी भएको भन्दै संसारभरीका नेपालीले आफु कार्यरत देशका नागरिकलाई नेपाल भ्रमणको पहल गर्नुपर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालबाट अन्य देशमा ुपर्याइएका १६ भन्दा बढी महत्वपूर्ण मूर्तिहरु फर्काउन सफल भएको बताउँदै पुरातात्विक महत्वका वस्तुहरु जोगाउन कठिन भएको बताए ।
त्यस्तै एनआरएनए न्युर्योक च्याप्टरका सभापति आङछिरीङ शेर्पाले नेपालमा पर्यटक भित्राउनका लागि पर्यटकीय क्षेत्रका व्यक्तिहरुसँग छलफल तथा उक्त क्षेत्रमा कामगर्ने कामदारहरुको सेवा सुविधाका बारेमा विचार पुर्याउनुपर्ने बताए ।
शेर्पा संघ अमेरिकाका निर्बतमान अध्यक्ष जाङबु शेर्पाले पर्यटन क्षेत्रमा काम गरेर हिमालमा ज्यान गुमाएका व्यक्तिहरुको परिवार तथा बालबच्चाहरुको जीवनयापनमा समस्या देखिएको बताउँदै सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने बताए ।
सोहि कार्यक्रममा सचिव अधिकारीको हातबाट कलाकार यशोदा खालिङ राई, नायिका एन्सर्ज गुरुङ, पत्रकार सन्तोष राई र हेलो अमेरिका अनलाइन टिभीलाई सम्मान गरिएको थियो । साथै अधिकारीले न्युर्योकका लागि नवनियुक्त सद्भावना दूत केशवराम राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए ।
युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरकी सभापति तथा कार्यक्रम संचालिका ममता खालिङ राईले संसार भरि छरिएर बसेका नेपालीले हाम्रो नेपालमा पर्यटन भित्राउन पहल गर्नुपर्ने बताइन् ।