
काठमाडौं । अबैध ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन ।
अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो ।
अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई समेत निष्काशन गरेको छ। आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो ।
निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको हो। गल्फ स्ट्रीम जहाजको भीएन७४०एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।
उनीहरुसँग नेपालको राहदानीसमेत थिएन । अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो । अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए ।
उनीहरु सबै ट्राभल डकुमेन्टमा नेपाल फर्किएका हुन् । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।
काठमाडौं उत्रिएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले विमानस्थलमा सोधपुछ गरेको थियो । अवैध ढंगबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ । अन्नपूर्णमा समाचार छ






