विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको संस्थापन इतर पक्षले राजीनामा माग गरेको छ ।
दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा राजीनामा माग गरेको हो । तर थापा राजीनामा दिने पक्षमा छैनन् ।
कांग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापन इतर समूहका नेता केदार कार्कीले दलका नेता उद्धव थापाले नैतिकताका आधारमा निकास दिनुपर्ने बताए । ‘उहाँले नैतिकताका हिसाबले निकास दिनुपर्ने हो, निकास दिनुभए राम्रो हुन्छ,’उनले भने,‘ मलाई लाग्छ उहाँले दलको नेताबाट निकास दिनुहुन्छ ।’
नेपाली कांग्रेसको प्रदेश पार्टी सभापति पनि भएका कारण पार्टीको हितका लागि थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।
थापा कांग्रेस भित्र कृष्णप्रसाद सिटौला लाइनका नेता हुन् । उनी संस्थापन पक्षमा छन् । कार्की भने डाक्टर शेखर कोइरालाको समूहका हुन् । गत पुस १५ गतेको संसदीय दलको नेताको निर्वाचनमा थापा १८ मतसहित विजयी हुँदा कार्कीले ९ मत ल्याएका थिए ।
संस्थापन पक्षका नेता तथा प्रमुख सचेतक भूपेन्द्र राई दलका नेताको राजीनामा नआउने बताउँछन् । उनले औपचारिक रुपमा कतैबाट राजीनामा माग पनि नभएको बताए ।

तपाईको प्रतिक्रिया