मिलन के राउत
उर्लाबारी, मदन भण्डारी कलेज अफ ईन्जिनियरिङका विद्यार्थीले वृहत विज्ञानप्रविधि र वास्तुकला प्रदर्शनी गरेका छन् । दुई दिनसम्म चलेको प्रदर्शनी शनिबार सम्पन्न भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मंगलबारे परिसरमा संचालित इन्जिजिनियरिङ कलेजमा ६१ वटा स्टल राखिएको थियो । विद्यार्थीहरुले आर्किटेक्चर, सिभिल, कम्प्युटरलगायतका विज्ञानप्रविधि र वास्तुकलाका विभिन्न मोडलहरु प्रदर्शनीमा समावेस गरेका थिए । सो अवसरमा विद्यार्थीहरुबीच लाईभ रोवोटेस ईभेन्ट, पेपर ब्रीज र लाईभ आर्ट प्रतिस्पर्धा समेत गराइएको थियो । कार्यक्रमका प्रमुख सल्लाहकार तथा कलेज अफ ईन्जिनियरिङका उप प्राध्यापक आ.प्रदीप पोखरेलका अनुसार नेपालमा अहिले आर्किटेक्चर भनेको नक्सा डिजाइन मात्र सोच्ने गरिएकाले यसलाई चिर्न पनि प्रदर्शनी आयोजना गरिएको हो । उहाँले भन्नुभयो, ‘‘नेपालमा आर्किटेक्चर भनेको घरको नक्सा डिजाइन मात्र गर्ने भन्ने सोच छ तर यो बृहत् क्षेत्र हो । यसमा कला र विज्ञान दुवै समावेश भएको हुन्छ । यसलाई चिर्न पनि वास्तुकला प्रदर्शनी गरिएको हो ।’ यस प्रदर्शनीमा अवलोकन गर्नेहरुलाई वास्तुकला भनेको के हो र यसको प्रयोग कसरी गर्ने भन्ने विविध जानकारी अवगत गराइएको पोख्रेलको भनाइ छ । प्रदर्शनीमा विद्यार्थीले विभिन्न संरचनाको डिजाइन तयार गरेका थिए । उनीहरुले राष्ट्रिय गौरवका आयोजनाका सडक संजाल र पुल, विभिन्न टावर, जननेता मदन भण्डारीसंग सम्बन्धित सामग्री, खगोलीय परिदृश्यहरु जस्तै: अध्यारो कोठामा चन्द्रमा र तारामण्डलको संयोजन, मन्दिर, बौद्ध स्तुपा, बाँसबाट बनेका संरचनाहरु स्टलमा राखिएका थिए । दुई हजार बढीले प्रदर्शनी अवलोकन गरेको जनाइएको छ । आफूभन्दा तल्लो तहका विद्यार्थीका लागि केही ज्ञान प्राप्त होस भन्ने उद्देश्यले पनि यो प्रदर्शनी आयोजना गरिएको पोख्रेलले जानकारी दिनुभयो । आविस्कार र वास्तुकलाको अन्वेषणमा पहिलो पाईला भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त कार्यक्रमलाई ‘आगमन’ नाम दिइएको कार्यक्रम संयोजक निरज सुवेदीले बताउनुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक विनोद अर्यालले अध्ययन संगसंगै अभ्यासपनि महत्वपुर्ण हुने बताउँदै विद्यार्थीहरुको क्षमता अभिवुद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको जनाउनुभयो । व्यवसायिक तथा प्राविधिक शिक्षाको सिकाईका क्रममा विद्यार्थीलाई व्यवहारिक अभ्यासमा पारंगत बनाउन यस्तो आयोजना गरिएको उहाँको भनाई छ ।
शुक्रबार एक समारोहका बीच कोशी प्रदेश सांसदद्वय उमाकान्त गौतम, होमबहादुर थापा तथा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष रोमनाथ ओलीले रिवन काटेर संयुक्त रुपमा प्रदर्शनीको समुदघाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया