उर्लाबारी, मुलुकको पुँजी बजारमा शिथिलता आइरहेको बेला लगानीकर्तालाई लगानी शिक्षा दिने काममा ब्रोकर कम्पनीहरू सक्रिय बनेका छन् । यसै क्रममा शनिबार उर्लाबारीमा सुमेरू सेक्युरिटिज प्रालि.ब्रोकर नम्बर ३९ ले धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उर्लाबारी नगरपालिका नगर प्रमुख गंगाप्रसाद खरेलले शेयर बजारमा अनलाइन कारोबारलाई सहज बनाउन सरोकारवालाहरूलाई सुझाव दिनुभयो । यस्तै, भुक्तानीको सीमा हटाइनुपर्नेमा उहाँको जोड थियो ।
जय वशिष्ठ रिसोर्ट उर्लाबारी ४ मा आयोजना गरिएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका पुर्व कार्यकारी निरज गिरीले प्रमुख वक्ताको रूपमा शेयर कारोबार सम्बन्धी विविध जानकारी दिनुभययो । गिरीका साथै राष्ट्र बैंकका पुर्व उप निर्देशक रमेश शर्मा, सुमेरू सेक्युरिटिजका निर्देशक प्रियान्स अग्रवाल, कुशुम भट्टराईलगायतले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका, बजारमा लगानी गर्दा हुने फाइदाहरू र जोखिम, धितो पत्रका प्रकार र बजारको वर्तमान अवस्थाका सम्बन्धमा अवगत गराएका थिए ।
देशको वित्तीय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धी ऐन, नियम, कार्यक्रमका संचालक मेघराज श्रीपालीका अनुसार सचेतना कार्यक्रममा धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबार गर्दा कम्पनीको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा प्रस्तुतीकरण मार्फत कसरी लगानी गर्ने, लगानी गर्नुको फाइदादेखि सतर्कता अपनाउने विधिसम्म बताएका थिए । उनीहरूले शेयर बजारमा बुझ्नु पर्ने महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उर्लाबारीका व्यवसायी र शेयर कारोबारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । मेघराज श्रीपालीले संचालन गर्नुभएको कार्यक्रममा सुमेरू सेक्युरिटिजका प्रेमकुमार अग्रवालको सभापतित्व रहेको थियो ।

तपाईको प्रतिक्रिया