उर्लाबारी f इन्जिनियरिङ विधामा पढाई हुने उर्लाबारीकै पहिलो दुर्गा माविमा प्रि – डिप्लोमा तहको विल्डिङ कन्सट्रक्सन अन्तर्गत औधोगिक परिक्षार्थी (अप्रेन्टिशीप) तालिम थप कोटासहित संचालनमा आएको छ । गत वर्ष २० जनाको स्कलरसीप रहेको अप्रेन्टिशीपमा यस वर्षदेखि ५ वटा कोटा थप गरिएको हो । असोज ४ गतेदेखि १८ गतेसम्म आवेदन खुलाइएको अप्रेन्टिशीप तालिमको कार्तिक ५ गते परीक्षाा हुने जनाइएको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको छनौटमा परी यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिइएको टेक्सका कार्यक्रम संयोजक सुमन अधिकारीले जानकारी दिनुभयो । अप्रेन्टशीप अध्ययनका लागि दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिसमा प्रशिक्षार्थीलाई सहभागि गराइनेछ । उहाँका अनुसार यो २४ महिने कोर्ष हुनेछ । जसमा २५ जनाले विना पैसा अध्ययन गर्न पाउने छन् । विद्यार्थीलार्ई वीमामा पनि समेटिने यो कार्यक्रम अन्तर्गत विद्यार्थीले उल्टै खाजा खर्च र भत्ता पाउने अधिकारीले बताउनुभयो । उहाँका अनुसार पढाई छाडेर बस्नुका साथै सीप सिकेर रोजगारी गर्ने सोचाई भएका युवाका लागि अप्रेन्टिशीप कार्यक्रम उपयुक्त छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना, नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । दुर्गा माविमा अप्रेन्टिशीपसहित तीन वटा विधामा प्राविधिक शिक्षाको पढाई हुँदै आएको छ । २०७५ सालबाट प्राविधिक शिक्षामा फड्को मारेपछि डिप्लोमा इन सिभिल इन्जिनियरिङ (३ वर्षे) र सिभिल सव ओभरसियर (१८ महिने) कोर्ष संचालनमा छन् । प्राविधिक शिक्षाका अलवा शैक्षिक क्रियाकलाप, बालमैत्री वातावरणसँगै नैतिक शिक्षा, व्यावहारिक ज्ञान, सामाजिक शिक्षा जस्ता जीवनपयोगी पद्दतिले दुर्गा मावि गरिबीको रेखामुनि रहेका विद्यार्थीहरुको आकर्षण बन्दै आएको छ । सबैको पहुँच पुग्नेगरी प्राविधिक शिक्षालयको व्यवस्था गरिनु आफैमा सुखद पाटो भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पारसमणि कुइँकेल बताउनुहुन्छ । इन्जिनियरिङका डिप्लोमा तहको अध्ययनपछि हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन लगायतका क्षेत्रमा सहजै रोजगारीको अवसर प्राप्त गर्न सकिने टेक्सका कार्यक्रम संयोजक अधिकारीको भनाई छ । यस्तै, औद्योगिक क्षेत्रलाई लक्षित प्रि – डिप्लो पढाइ पनि थप परिस्कृत गरी निरन्तरता दिइएको उल्लेख गर्दै औद्योगिक अभ्याससंग सम्बन्धित भएकाले यो अत्यन्तै उपयोगी हुने उहाँको भनाइ थियो । विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेका अनुसार छुट्टै आइसीटी हल, डिजिटल बोर्डका माध्यमबाट पढाई हुनाले विद्यार्थीलाई कोर्ष अध्ययन गर्न सहज भएको छ । साथै आधुनिक औजार र उपकरण सिकाइका माध्यम हुन् । सामाजिक र आर्थिक रूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीइभीटी)बाट सम्बन्धन प्राप्त यो विद्यालय इन्जिनियरिङ पढाइ हुने उर्लाबारीकै पहिलो प्राविधिक शिक्षालय हो ।

तपाईको प्रतिक्रिया