खोटाङ नेकपा एमाले पार्टीले यस पटकको निर्वाचनमादुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्ष चित्त बुझाएको छ । गत निर्वाचनमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा भएको खोटाङमा २०७४ को चुनावमा एमालेले ५ पालिका प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष जितेको थियो ।
२०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यसपल्ट ६ प्रमुख, ४ उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ । यसपल्ट हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावावेंसी गाउँपालिकामा प्रमुख तथा ऐसेलुखर्क, जन्तेढुंगा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको छ । यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो ।
अघिल्लो निर्वाचनमा १ प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट २ प्रमुख, २ उपप्रमुख र २३ वडाध्यक्ष जित्न सफल भएको छ । २०७४ मा साकेला गाउँपालिका अध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुंगा प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ ।
भर्खरै उदाएको एकीकृत नेकपा समाजवादीले एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले बराहपोखरी गाउँपालिकामा उपप्रमुखमा बाजी मारेको हो । जसपाले पनि एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । जसपाले केपिलासगढी गाउँपालिकामा उपप्रमुख जितेको हो ।
अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा वडाध्यक्ष जितेको राप्रपाले यसपल्ट एक स्थान पनि जित्न सकेन । बरु खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन् ।

खोटाङका १० पालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी र रावावेंसी गाउँपालिकामा कांग्रेससहितको गठबन्धन थियो । हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुईचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामाा थियो ।

कांग्रेस एक्लै लडेका पालिकामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो । तर कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन् । गठबन्धन भएको ऐसेलुखर्कमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार श्रीबहादुर राई र रावावेंसी गाउँपालिकामा उपाध्यक्षका उम्मेदवार लिलानारायण श्रेष्ठ पराजित भएका छन् ।
केपिलासगढीमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको प्रमुखका उम्मेदवार माइतीराज राई कांग्रेसका समिर राईको निकटतम प्रतिद्वन्द्वीमा सीमित बने । गठबन्धनको निर्देशन विपरीत हलेसी तुवाचुङ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच अघोषित गठबन्धन हुँदा पनि कांग्रेसका बिमला राईसँग हार बेहोर्न पुगेका छन् ।
स्थानीय निर्वाचनले खोटाङमा कांग्रेस र माओवादी केन्द्रको ‘पोजिसन’ एक स्थान माथि देखाउँदा एमालेलाई तेस्रो स्थानमा झारेको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी बताउँछन् । ‘जिल्लाको निर्वाचनले एमालेको स्थानमा कांग्रेस पुग्यो । कांग्रेसको स्थानमा माओवादी पुग्यो । माओवादीको स्थानमा एमाले झर्‍यो,’ जोशीले भने, ‘घाटा एमालेलाई भो । हुन त एमालेलाई जिल्लामा मात्र होइन देशभरि नै घाटा भएको देखिन्छ ।’
गठबन्धनले तुलनात्मकरुपमा माओवादी केन्द्रलाई बढी लाभ भएको अन्य दलको विश्लेषण छ । तर वडाको हकमा भने चार वडा बाहेक अन्य वडा माओवादी केन्द्रको एकल प्रयासले जित प्राप्त गरेको माओवादी केन्द्रका नेता होमकाजी आचार्य बताउँछन् ।
‘प्रमुख उपप्रमुखमा हामीले अरुलाई जितायौं, कति ठाउँमा हामीलाई जिताए,’ आचार्य भन्छन्, ‘वडाको हकमा चार वटा बाहेक अन्य वडा आफैंले जितेका हौं । वडामा पनि तालमेल गर्न सकेको भए अरु बढी स्थान जित्न सकिन्थ्यो ।’
नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल चार दल एकातिर भएपछि एमालेको तेस्रो स्थान स्वभाविक भएको बताउँछन् । ‘एक्ला एक्लै लडेको भए विपक्षीलाई सदस्य जित्नै गाह्रो हुने थियो,’ दंगालले भने, ‘चार वटा दल मिलेपछि यस्तो परिणाम आउनु अस्वभाविक होइन ।’

तपाईको प्रतिक्रिया