हलेसी क्षेत्रको खानेपानीमा भलबाढीको जोखिम
दित्तेल । हलेसीतुवाचुङ नगरपालिका क्षेत्रको खानेपानि समस्या समाधान गर्ने उदेश्यले निर्माण गर्दै गरेको बृहत खानेपानी आयोजना भलबाढीले बगाउने जोखिम रहेको छ ।
(बृहत पम्पिङ) सिस्टमबाट खानेपानी आयोजनाको पाईप जोखिम आँकलन नगरी खोलामा बिछ्याइएको कारण भलबाढीले बगाउने जोखिम बढेको हो । नगर क्षेत्रको खानेपानी समस्यालाई समाधान गर्न दुधकोसीबाट पम्पीङ सिस्टमले निकाल्ने गरी काम सुचारु गरेको थिए ।

भलबाढीको सम्भाब्यता अध्ययन नगरी काम सुरु गरेको निर्माण कम्पनीले खाने पानीको पाइपलाइन खोलामा राखेको छ । निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित महादेवबेँसीबाट दुधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको पाईप महादेव खोलैखोला असुरक्षित तरिकाले राखिएको हुनाले वर्षायामको भल बाढीले बगाउन सक्ने एक स्थानियले बताए । खोलामा लडाएर राखिएको पाईप वर्षामा आउने भलबाढीले क्षती पुग्ने खतरा देखिएको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । निर्माण कम्पनीले खानेपानीको पाईपलाई जमिनमाथि उठाउने पिलर पनि राखेका छैनन् । खोलामा लडाएर राखिएका कारण सामान्य भलबाढीले पाईपमा खिया लाग्न सुरु भइसकेको छ । स्थानीय महादेव खोला र ढुँडी खोलामा भलबाढीले भेट्नेगरी करिब साँढे ३ किलोमिटर पाईप जमिनमा लडाएर राखिएको छ । खोलाभन्दा २० मिटरमाथिबाट पाईप राख्न आवाज उठाउँदै आएको भए पनि सुनुवाई नभएको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा निकाल्नका लागि सान्ने खोलामा विछ्याइएको अर्को मेनलाईनको पाईप समेत भलबाढीको जोखिममा छ । पम्पिङ अयोजनाको काम पाईप बिछ्याउने क्रममा भएको त्रुटी सच्याउनका लागि निर्माण व्यवसायीलाई १६ फागुनमा पत्राचार गरिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का दिवा–महादेव खिम्तीले लिएको हो । दुधकोसीबाट काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्नेगरी रमन सगरमाथा–सगरमाथा घिमिरे जेभी र भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले गरिरहेको छ ।




