इलाम । खुर्सानी, अलैची, अदुवा दुध र चियापत्ति खेतीले प्रख्यात इलाममा अहिले सुपारी खेतीमा किसानको आर्कषण बढेको छ ।
कान्लाखेती पाखाबारी लगायतका ठाँउहरुमा किसानले सुपाडी रोपेर आयआर्जनको बाटो बनाउदै गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए ।
सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले वार्षिकरूपमा सुपारी बेचेर रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
सुपारी काँचै बिक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका-२ ले सुपारीको खपटाबाट टपरा बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । अधिकांश क्षेत्रमा सुपारी हुने भएकाले किसान सुपारी खेतीतर्फ लागिपरेका छन् । रासस






