
पूर्वी नेपालमा स्वास्थ्य सेवा र जनचेतनामूलक गतिविधिमा सक्रिय रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल ले ‘Laughter for Life – The Motivation Session with Sandeep Chhetri’ कार्यक्रममा स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्दै सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श तथा परीक्षण सेवा प्रदान गरेको छ।
मकालु मिडिया नेटवर्क प्रा.लि. को आयोजनामा जेठ २१ गते बिर्तामोडस्थित साई पार्टी प्यालेस र जेठ २२ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नोबेल मेडिकल कलेजले काठमाडौं मेडिकल कलेज (केएमसी) सँगको सहकार्यमा स्वास्थ्य सेवा डेस्क सञ्चालन गरेको थियो।
कार्यक्रममा सहभागी सर्वसाधारणलाई रोगको रोकथाम, स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा विभिन्न स्वास्थ्य समस्याबारे जानकारी प्रदान गरिएको थियो। नोबेलका स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरूले सहभागीहरूको स्वास्थ्यसम्बन्धी जिज्ञासाको समाधान गर्नुका साथै सामान्य स्वास्थ्य परीक्षणसमेत गरेका थिए।
हास्य कलाकार तथा प्रस्तोता सन्दीप क्षेत्रीको प्रेरणादायी प्रस्तुति र सकारात्मक सोचका सन्देशबीच सञ्चालन गरिएको स्वास्थ्य सेवा डेस्कले सहभागीहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो। मनोरञ्जनसँगै स्वास्थ्य सचेतनाको सन्देश प्रवाह गर्न सफल भएको भन्दै सहभागीहरूले नोबेल मेडिकल कलेजको पहलको प्रशंसा गरेका छन्।
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामुदायिक स्वास्थ्य प्रवर्द्धन, जनचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत नागरिकसम्म स्वास्थ्य सेवा र सचेतना पुर्याउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
मनोरञ्जन, प्रेरणा र स्वास्थ्य सेवाको संयोजन बनेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। स्वास्थ्यप्रति सचेत, सकारात्मक र जिम्मेवार समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।







