
विजय खम्बु
विषय प्रवेश
भनिन्छ ‘स्वास्थ्य नै धन हो ।’ स्वास्थ्य ठिक भएन भने जतिसुकै धन भए पनि व्यक्ति र परिवारमा शान्ति हुन्न । स्वास्थ्य अवस्था ठिक भए मात्र धन, इष्टमित्र कमाउन सकिन्छ । स्वास्थ्य खराब भएमा उपचार गर्दा भए जति सम्पूर्ण धन सकिन पनि सक्दछ ।
धन कमाउन, धन जोगाउन वा व्यक्ति र परिवारमा खुसी, शान्ति हुन स्वास्थ्य तन्दुरुस्त हुनुपर्छ । नागरिक स्वास्थ्य हुनुपर्छ । नागरिक स्वास्थ्य हुन, नगर बासीलाई स्वास्थ्य राख्न पथरीशनिश्चरे नगर (मोरङ)मा के कस्ता प्रयासहरू भइरहेका छन् । यो लेख मार्फत पथरीशनिश्चरे नगरको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास गरौँ ।
पथरीशनिश्चरे नगरको प्रयास
पथरी शनिश्चरे नगरपालिकामा जनस्वास्थ्य क्षेत्रको अवस्थालाई नागरिक स्तरमा पहुँच पुराउने गरी कार्य अगाडी बढाउँदै लगि रहेको छ ।
स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुराउने उद्देश्यले विभिन्न कामहरू अगाडी बढाइरहेको हो । हालसम्म एक स्थानमा नागरिक आरोग्य सेवा केन्द्र, दुई स्थानमा स्वास्थ्य चौकी, आठ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र १ नगर अस्पताल सहितका सरकारी स्वास्थ्य संस्था सेवा प्रवाह भइरहेको छ ।
अहिले पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखामा सूचीकृत१२ सरकारी स्वास्थ्य संस्थाहरू छन् ।
नगरपालिकामा ७२ हजार ४५१ रहेको छ । २०७८ को जनगणना अनुसार १६ हजार ६२१ घरधुरी रहेको छ । १७ हजार ९८० परिवार बसोबास छ ।
निजी मेडिकल, आयुर्वेद, ल्याब, फिँजियो थेरापी, होमियोपैथिक र जडिबुट्टी र ३ वटा निजी अस्पताल सञ्चालन रही सुचिकृतभएका छन् ।
१५ बेडको पथरी नगर अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, फार्मेसी, विशेषज्ञ सेवा सञ्चालनमा छ भने विभिन्न सेवाहरू विस्तार गरिदैंछ
नगरमा स्वास्थ्य सेवाको अवस्था

नेपाल सरकारले लागु गरेको स्वास्थ्य बिमा सेवा सञ्चालित पथरी नगर अस्पतालबाट सरदर दैनिक ५ सय जना सेवाग्राहीले सेवा लिन्छन् । हाड जोर्नी प्रत्येक र महिला रोग विशेषज्ञ सेवा हप्ताको आइतबार, मङ्गलवार र बिहीबार प्रदान गरिन्छ ।
अस्पतालमा फिजिसियन भिडियो एक्स–रे बाल रोग विशेषज्ञ छाल रोग सम्बन्धी सेवा उपलब्ध छ ।
अस्पतालमा मनोचिकित्सक, सल्यचिकित्सक, फिपजयो थेरापी सेवा फार्मेसी, ई सिजी, एक्स–रे, इको सेवाहरू सञ्चालनमा छन् ।
गर्भवती जाँच, डेलिभरी, दन्त चिकित्सक सेवा र आकस्मिक सेवाहरू उपलब्ध छन् ।
स्वास्थ्य शिविर

पथरी शनिश्चरे नगरपालिकामा विभिन्न सङ्घ सस्थाहरुको अगुवाइमा स्वास्थ्य शिविर सञ्चालन हुने भए पनि हाल सम्मा त्यसको तथ्याङ्क, उपलब्धि, खर्च, परिचालित जनशक्तिको विवरण उपलब्ध गराउने गरेको छैन ।
जनस्वास्थ्य अधिकृत जगप्रसाद मगरका अनुसार स्थानीय विभिन्न सङ्घ सस्थाहरुले नि:शुल्क स्वास्थ्य शिविरको अनुमति माग्नुहुन्छ, तर वहाँहरूले अहिलेसम्म कसैले पनि प्रतिवेदन विवरण नबुझाएको बताउनुहुन्छ ।
डेंगु नियन्त्रण अभियान

पथरी शनिश्चरे नगरपालिकाको प्रत्येक वर्ष डेंगु रोग समस्या हुने गरेको छ । नियन्त्रणका लागि आवश्यक कार्यहरू गर्दै आइरहेको छ ।
डेंगु संक्रमणको कारण मानिसको मृत्युसमेत हुने भएको छ । नियन्त्रणको लागि विभिन्न अभियान र सूचना प्रवाह गर्दछ ।
यो वर्ष पनि औषधी छिट्ने नागरिकको घरमा सूचना पुर्याउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत एकराज खत्रीले जनाउनु भएको छ ।
क्षयरोग नियन्त्रण

दशक अघि पथरीशनिश्चरेमा संक्रमणको रूपमा थियो क्षयरोग । नियन्त्रणको लागि नगरपालिकाको विभिन्न वडाहरूमा डिजिटल प्रणाली मार्फत क्षयरोग स्कृनिङको काम गरेको थियो ।
पथरी शनिश्चरेमा क्षयरोग नियन्त्रण गर्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ । यद्यपि शून्यमा झार्न अहिलेसम्म नसकिएको अवस्था छ । मध्य पान, धुम्रापानबाट लाग्ने यो रोग पौष्टिक आहाराको कमीले पनि लाग्दछ । पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको मातहतबाट क्षयरोगीलाई नियमित औषधी सेवन गराउने, काम पनि गरिरहेको छ ।
मातृ शिशुको अवस्था
नगरपालिकामा २०८२ साउन महिना देखी चैत्रसम्म मातृ शिशु मृत्युदर शून्य बनाउन सफल भएको छ ।
स्वास्थ्य संस्थामा सरल पहुँच, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, स्वास्थ्यकर्मीको पहल र गर्भवती महिलाको चेतना स्तर विकास भएको कारणले गर्दा मातृ शिशु मृत्युदर शून्य बनाउन सफल भएको जनस्वास्थ्य अधिकृत खत्रीको भनाई छ ।
नगर अस्पतालबाट २४ सै घण्टा डेलिभरी सुविधा रहेको छ । गाइनो सेवासमेत रहेकोले शिशु तथा मातृ मृत्युदर घटाउन मद्दत पुगेको हो ।
मानसिक रोग विशेषज्ञ सेवा

अस्पतालमा मानसिक रोगको उपचार सेवा सञ्चालनमा छ ।
प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार मानसिक रोग विशेषज्ञबाट सेवा प्रवाह भइरहेको छ । मानसिक रोगीलाई विविध कारणले गर्दा उपचारको लागी अस्पताल नआउने तथा नलाने गरिएको समेत अवस्था छ ।
आङ खस्ने रोगको स्थिति

पथरी शनिश्चरे नगरपालिकामा आङ खस्ने, पाठेघरको मुखको र स्तन क्यान्सरको समस्या बढ्दो छ ।
महिलाहरूमा देखिने यो रोगको स्कृनिङ प्रत्येक वडाको आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट नि:शुल्क सेवा सञ्चालन गरिरहेको पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
महिलाहरूमा पाठेघरको क्यान्सर, आङ खस्ने समस्या र स्तन क्यान्सर जस्ता दीर्घरोहरु परीक्षणको क्रममा देखिएको जनाइएको छ ।
महिला स्वास्थ्य संस्थामा परीक्षणका लागि नआउने भएको कारणले गर्दा यकिन गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
पाठेघरको क्यान्सर स्कृनिङको क्रममा क्यान्सर पत्ता लागेमा तुरुन्तै त्यसलाई औषधी तथा उपचार गर्ने विधि पथरी शनिश्चरे नगरपालिकामा रहेका छ ।
पाठेघरको मुखको क्यान्सरलाई सेकेर निको पार्न सकिने भएकोले यसलाई जनस्तरसम्म सूचना प्रवाह गर्न सामुदायिक, सरकारी तथा विभिन्न संघ सस्थाले सूचना प्रवाह गर्नु पर्ने देखिन्छ ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या लुकाएर राख्दो ज्यानसमेत जाने अवस्था हुन्छ । यो स्थितिलाई नियन्त्रणमा लिन महिलाहरू स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न अनुरोध छ ।
स्वास्थ्य कर्मचारी
पथरी शनिश्चरे नगरपालिकाबाट तलब बुझने स्वास्थ्य क्षेत्रमा कार्यरत स्थायी, करारसहित गरेर एक सय ए जना स्वास्थ्य कर्मचारी गार्ड, माली, कार्यालय सहयोगी कार्यरत छन् ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी मङ्गलवारेसँग सम्झौता गरेर त्यहाँ कार्यरत डाक्टरहरूले समेत पथरी नगर अस्पतालबाट सेवा प्रदान गरिरहेको छन् ।
निजी स्वास्थ्य संस्थामा करिब एक सय जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेको पथरी अस्पतालका सञ्चालक ईश्वरी सापकोटाले जानकारी दिनुभयो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा मोरङ हस्पिटल प्रा. लि. करिब एक सय जनाको हाराहारीमा स्वास्थ्य कार्यरत रहेको अनुमान गरिएको छ ।
स्वास्थ्य बिमा १
पथरी शनिश्चरे नगरपालिकाले आफ्नो बजेटबाट एक हजार दुई सय परिवारको नि:शुल्क स्वास्थ्य बिमा गर्दै आइरहेको थियो ।
बिमाको कारणले गर्दा अति विपन्न परिवारलाई स्वास्थ्य उपचारको लागि सहजता थियो । कुनै पनि नागरिकको स्वास्थ्य बिमा सरकारी बजेटबाट नबेहोर्ने नीति सङ्घीय सरकारले लिएपछि हाल बि मित परिवार स्वयमले उक्त रकम बेहोर्नु पर्ने छ ।
स्वास्थ्य बिमा न. २
स्वास्थ्य नीति २०७६ ले पनि सम्पूर्ण नेपालीका लागि आधारभूत स्वास्थ्य सेवा प्रत्येक तहका अस्पतालबाट नि:शुल्क रूपमा उपचार उपलब्ध गराउने व्यवस्था गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा न. १ मा नयाँ १ हजार ६ सय ८८ जना नयाँ परिवारले बिमा गरेका छन् भने पुरानो ३ हजार ८२४ परिवारले नवीकरण गरेको छ ।
यस्तै वडा न. २ मा १ हजार ५९२ परिवार नयाँ विमित परिवार हो भने ४ हजार २९० जनाले नवीकरण गरिएको वडा न. २ की बिमा अभिकर्ता रञ्जु गुरुङले जानकारी दिनुभयो ।
त्यस्तैगरि वडा न. ३ मा नयाँ विमित परिवार १ हजार १५९ रहेको छ भने २ हजार ७४० परिवारले नवीकरण गराए ।
वडा न. ४ मा १ हजार २६२ नयाँ परिवार थपिएका छन् भने २ हजार ११ परिवारले आफ्नो परिवारको बिमा नवीकरण गराएको अभिलेखमा भेटिछ ।
वडा न. ५ मा १ हजार परिवार नयाँ बिमा गर्ने छन् भने २ हजार ४० परिवारले नवीकरण गराएको जानकारी दिइएको छ ।
वडा न. ६ मा १ हजार ३५ परिवार थप भएको र २ हजार ८२ परिवारले नवीकरण गरेको जानकारी दिइएको छ ।
वडा न. ७ मा नयाँ ९ सय सात परिवारले रहेको नवीकरण १ हजार ७९८ परिवारले गराए । वडा न. ८ मा ८५४ परिवार नयाँ र १ हजार ६३८ परिवारले नवीकरण गराएको जानकारी दिइएको छ ।
वडा न. ९ मा नयाँ १ हजार ९० परिवार रहेको छ । २ हजार ८१ परिवारले नवीकरण गराएका छन् र वडा न. १० मा १ हजार ४ सय ९४ जना नयाँ विमित परिवार र ३ हजार ४४७ परिवारले नवीकरण गराएको जानकारी दिइएको छ ।
प्रत्येक वर्ष बिमा नवीकरण गर्नु पर्ने भएको हुँदा नवीकरण दोहोरीको कारणले परिवार संख्या धेरै देखिएको अभिकर्ता रञ्जु गुरुङले जानकारी दिनु भएको छ ।
पथरी शनिश्चरे नगरपालिका भरि स्वास्थ्य संस्था कार्यरत कर्मचारीको तलब भत्ता र कार्यक्रम सहितको लागि २ करोड ९९ लाख रुपैयाँ सशर्त तर्फ बजेट आएको छ भने नि सर्त तर्फ ९६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
पथरी शनिश्चरे नगर अस्पताल प्रति सेवाग्राहीको विश्वास बढेको छ । व्यवस्थापकीय पाटो, अस्पतालमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई हुने व्यवहारको कारण अस्पताल सफल हुँदै गएको सञ्चालकको भनाइ छ ।
स्वास्थ्य परीक्षणको लागि अहिले अस्पतालमा भिड लाग्ने गरेको छ । नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट २०८२ साउन महिना देखी चैत्र महिनासम्म ९० हजार ६७३ जनाले पथरी नगर अस्पतालबाट सेवा लिएको छ ।
६ हजार २८८ जना बिमा नभएका नागरिकले पनि उपचार सेवा लिएका छन् भने ४५० जना अति विपन्न नागरिकले नि:शुल्क उपचार पाएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
पथरी शनिश्चरे नगरमा दीर्घ रोग र रोगीहरू
क्यान्सर मुटु रोग जस्ता दीर्घ रोगीहरूलाई पथरी शनिश्चरे नगरपालिकामा २०८२ साउन महिनादेखिको चैत्र महिनासम्म ६१ जनालाई सिफारिस गरिएको जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगरले जानकारी दिनुभयो ।
नेपाल सरकारले दीर्घ रोगीलाई १ लाख रुपैयाँको उपचार छुट उपलब्ध गराउनको लागि ६१ जनालाई सिफारिस गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिकामा १ सय ८० जना दीर्घ रोगीले मासिक ५ हजार रुपैयाँको दरले पौष्टिक खानाको लागि उपलब्ध गराइएको जनस्वास्थ्य अधिकृत मगरले जानकारी दिनु भयो ।
क्यान्सर र मिर्गौला पीडित रोगीहरूलाई यो सुविधा उपलब्ध हुने गरेको छ ।
गर्भवती महिला
पथरी शनिश्चरे नगरपालिका भरि बसोबास गर्ने १ हजार ३ सय १६ जना गर्भवती महिलाहरू रहेको अस्पतालमा रेकर्ड छ ।
एम्बुलेन्स सेवा

पथरी शनिश्चरे नगरपालिकामा ६ वटा एम्बुलेन्सले सेवा प्रदान गरिरहेको छ । आर्थिक अवस्था विपन्न भएका ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । पथरी शनिश्चरे नगरपालिकाको एम्बुलेन्सबाट एकोहोरो घर देखी अस्पताल पुराउने र उक्त एम्बुलेन्सको भाडा दाबी गर्न आउँदा २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको लेखा अधिकृत पीताम्बर वस्तिले जानकारी दिनु भएको छ । यस आर्थिक वर्षमा २९ हजार रुपैयाँ भाडा मार्फत रकम भुक्तानी गरिएको लेखा अधिकृत वस्तिले बताउनु भयो ।
सामुदायिक स्वास्थ्य महिला स्वयम सेविकाको भूमिका

पथरी शनिश्चरे नगरपालिकामा हाल ३० जना सामुदायिक महिला स्वयम सेविकाहरू कार्यरत हुनुहुन्छ ।
स्वयम सेविकाले महिला गर्भवती भएको, स्वास्थ्य सम्बन्धी जानकारी दिने,सरसफाइ सम्बन्धी जानकारी, पूर्ण खोप सम्बन्धी जानकारी दिने बालबालिकालाई पोसिलो खानेकुरा खुवाउने लगायतको भूमिका रहेको छ ।
प्रत्येक महिना काम गरेको रिपोर्ट आधारभूत स्वास्थ्य केन्द्रमा बुझाउनु पर्छ । नगरपालिकाबाट मासिक काम गरेको भत्ता बापत ३ हजार रुपैयाँ र नेपाल सरकारबाट १२ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ । पारिश्रमिकको हिसाबले हेर्ने हो भने यो रकम अत्यन्त न्यून हो ।


अहिले पथरी शनिश्चरे नगरपालिकामा बिहान बेलुकाको समयमा मर्निङ वाक गर्ने मानिसको सङ्ख्या बाक्लो रूपमा भेटिन्छ । भुल्के सिमसार, कटुसे नगरपालिका भरि निर्माण गरिएको ब्ययमसाला, जिम खाना, फुटबल, फुटसल, योगा, ब्याडमिन्टन हलहरूमा गएर खेलहरू खेल्ने खेलाडीहरूको सङ्ख्या बढेको छ ।
यस्ता क्रियाकलापको कारण अहिले नगरमा बसोबास गर्ने मानिसहरू आफ्नो स्वास्थ्य प्रति सचेत हुँदै गएको सङ्केत गर्दछ ।
स्वास्थ्य स्वयम सेवक बाबुराम राई

पथरी शनिश्चरे नगरपालिका वडा न. २ अस्पताल मार्ग बस्नुहुने वर्ष ६० का बाबुराम राई अस्पताल स्थापनाकाल देखी नै स्वास्थ्य स्वयम सेवकको भूमिकामा रहनुभएको छ ।
अस्पतालको सर्वानिङ्ग विकासमा अस्पताल प्रशासनबाट पारिश्रमिक नलिईकन पूर्णकालीन रूपमा काम गरिरहनु भएको छ । राई अस्पतालका जग्गा दातासमेत हुनुहुन्छ ।
अस्पताल स्थापना कालदेखि नै निरन्तर रेखदेख गर्ने काम गर्नुको साथै असक्त, असाह्य विपन्न बिरामीको उपचारमा सहयोग गर्नुहुन्छ ।कतिपय बिरामीहरु औषधी किन्ने पैसा नभएकाहरुलाई आफैले औषधी किनेर समेत पठाइदिने गर्नुहुन्छ ।






