लेखक – सुनिल उलक
नेपालका धेरै नदीहरु उत्तरी हिमश्रृंखलाबाट नै शुरु भएका छन् । नेपालको पूर्वी भागमा रहेको तमोर नदी पनि कञ्चनजंघा हिमश्रृंखलाको पश्चिम मोहडाबाट आरम्भ भएको छ । हुन त धेरैलाई थाहा नहुन सक्छ दार्जिलिङको मुख्य नदी टिस्टा यहि कञ्चनजंघाको पूर्वी मोहडाबाट आरम्भ भएको छ । यसरी भन्नुपर्दा टिस्टा र तमोर दिदीबहिनी जस्तै हुन् । तर एउटा भिन्नता दुबै नदीमा छ । टिस्टामा ४० वटा ठूला बाँधका योजनाहरु छन् । जसमा ९ वटा पुरा भए, १३ वटा बन्दैछन् । बाकी योजनामा छन् । यदि यि योजना सबै पुरा भयो भने विश्वको सबैभन्दा कम लम्बाइमा सबैभन्दा बढी दोहन भएको नदीमा टिस्टा पर्नेछ । तर यसको ठिक बिपरित तमोर नदी खासै भन्नुपर्दा अझै कुमारी नै छ । यसमा एउटै पनि बाँध बाँधिएको छैन । निकट भविष्यमा केही बाँध बनाउने योजना भने शुरु भइसकेको छ । यदि कोही प्रकृतिप्रेमी अगाडि आँउछ भने यो नदीलाई कुमारी नै राख्ने योजनामा लाग्नुपर्छ । प्राकृतिक नदीलाई प्राकृतिक बहाव दिनुपर्छ । यसमा रोकटोक गर्नु हुदैन । ठाँउ ठाँउमा नदीको बहावलाई रोकेर बाँध बाध्ने र नदीका केही क्षेत्र सुक्खा बनाउने गर्दा पर्यावरणमा धेरै असर पर्दछ । जलजीवहरुको अस्तित्व हराउँछ । खैर यि त तमोरका कुरा भए । यहाँ हामी पुलका कुरा गर्दैछौ । तमोर नदी माथिको झोलुङ्गे पुल पनि चन्द्रशम्शेरको अगुवाइमा बनेको पुल नै हो । जोन एम हेन्डरसन कम्पनी, एबरडीनबाट सम्पूर्ण सामग्री ल्याएर स्कटिस इञ्जिनियहरुबाट नै बनाइएको पुल हो । यो पुलको निर्माण भने सन १९३० को दशकमा भएको थियो । चन्द्रशम्शेरको देहावसान भइसकेपछि राणा प्रधानमन्त्री भीमशम्शेरको समय तिर बनेको हुनुपर्छ । धनकुटा प्रवेशको लागी मुलघाटमा तमोर नदी तर्नैपर्छ । राणाकालमा धनकुटाको निकै महत्व थियो । एकिकरण अगाडी पल्लो किरात राज्य अन्तर्गत रहेको धनकुटा राणाकालमा पूर्व १ नं को सदरमुकामको रुपमा रहेको थियो । साथै यहाँ पूर्व १ नं देखी ४ नं सम्म र इलामको पनि सबै प्रशासनिक कार्यको लागी पूर्वी गौडाको रुपमा पनि स्थापित गराइएको हुँदा यहाँ पूर्वको बडाहाकिमको अड्डा पनि थियो । धनकुटा आउजाउ गरिरहनु पर्ने हुँदा यहाँ तमोरमा पक्की पुलको निकै आबश्यकता पनि थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयकालमा नेपालमा धेरै बिकासहरु भएको थियो । शिक्षाको लागी त्रीचन्द्र कलेज, यातायातको लागी नेपाल गवर्मेन्ट रेलवे, ढुवानीको लागी रोपवे, औषधी उपचारको लागी त्रीचन्द्र अस्पताल, बिजुलीको लागी चन्द्रज्योती (फर्पिङ जलबिद्युत), सतीप्रथा उन्मुलन तथा दासप्रथा उन्मुलन पनि उनकै पालामा भएको थियो । सबैभन्दा लामो शासनकाल पनि उनकै थियो । उनकै शासनकालमा नेपालमा निर्माण कार्यको लागी आफ्नै स्वदेशी इञ्जिनियरको आबश्यकता महसुस गरि आफ्ना दुइ भतिजा कुमार नरसिंह राणा तथा किशोर नरसिंह राणालाई इञ्जिनियर अध्ययनको लागी भारत रुडकीमा रहेको थोमसन कलेज अफ इञ्जिनियरिङमा अध्ययनको लागी पठाएका थिए । दुइ दाजुभाइलाई श्री ३ चन्द्रले भारतबाट अध्ययन पुरा गरेर फर्केपछि पहिलो काम नै सिंहदरवार बनाउन लगाएका थिए । सिंहदरवारको निर्माण पछि आफ्नो बेलायत भ्रमणमा किशोर नरसिंहलाई साथमा लगेका थिए । यि दुई दाजुभाइले राणा महल तथा दरवारहरुको डिजाइन गरेका थिए । साथमा फर्पिङ जलबिद्युतको डिजाइन पनि यिनै दाजुभाइले गरेका थिए । चन्द्रशम्शेरले नेपालका बिभिन्न स्थानमा फलामे झोलुङ्गे पुल बनाउने सोच राखेका पछि सम्पूर्ण पुलको डिजाइन यिनै दुइ दाजुभाइले नै गरेका थिए । तमोर नदी माथी मुलघाटको पुलको डिजाइन पनि नरसिंह दाजुभाइले नै गरेका थिए । स्कटल्याण्डको एबरडीनबाट जोन एम हेन्डरसन कम्पनीले सम्पूर्ण आबश्यक फलामे सामग्रीको साथै जडान गर्न पनि स्कटीस इञ्जीनियरहरु नै आएका थिए । पुल बनाएर गएको करिव २० वर्ष पछि यो पुलको माथीबाट तल झुण्डिएको मुख्य मोटो तार मध्यको एक चुँडिदा त्यतिबेलाका राणा शासकले तुरुन्तै जोन एम हेन्डरसन कम्पनीलाई शिकायत गरेर पत्र पठायो । पत्र पाउना साथ अर्को तार ल्याएर मर्मत गरिदिएको थियो । साथै कम्पनीले हामीले बनाएको कुनै पनि पुलमा त्रुती भेटिएमा मर्मत गरिदिने तथा आफ्नो कम्पनीको बिज्ञापन पनि गर्ने जानकारी दिएका थिए । यसरी सो पुल निकै लामो समय सम्म चलेको थियो । बिसं २०३६ मा कोशी राजमार्ग बनेपछि भने सो पुल बिस्थापित भयो । बिसं २०१९ को माघ फागुन तिर नेपालमा बिफरको महामारी धेरै फैलिएको थियो । धेरैको मृत्यु भए पछि सरकारले २०२१ सालको जेठमा सात लाख बिफरको खोप मगाएको थियो । यसरी खोप मगाए पछि ठाउँ ठाउँमा खोप लगाउने कार्य भयो । जसले गर्दा बिफर नियन्त्रणमा पनि आयो । यहि समय खोप लगाउनको लागी धनकुटाका जनतालाई खोप लगाइए पछि धनकुटा प्रवेश गर्ने सीमाको रुपमा यहि मुलघाटको पुलमा पनि खोपको शिविर राखिएको थियो । जहाँबाट धनकुटा प्रवेश गर्ने हरेकलाई खोप लगाउन अनिवार्य गरि धनकुटालाई बिफर मुक्त क्षेत्र बनाइएको थियो ।