काठमाण्डौं । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–५ निवासी अति गरिब र पीडित यादव परिवारका लागि नेपाली कांग्रेसका लोक प्रिय युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माले जुन मानवीय सहयोग गर्नु भएको छ, त्यसले सम्पूर्ण सर्लाहीवासीको हृदय छोएको छ ।
हरिपुर्वा–५ की पविता यादवको जनकपुरको मुस्कान अस्पतालमा पित्तथैलिको अप्रेशनपछि अवस्था जटिल भई काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा महिनौँसम्म भेन्टिलेटरमा उपचार भएको थियो । दुर्भाग्यवश, उहाँको केही दिनअघि निधन भयो । तर, अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनका श्रीमान् अंगेश यादवले उपचार खर्च तिर्न नसक्दा आफ्नै श्रीमतीको शव अस्पतालबाट निकाल्नसमेत असमर्थ भएका थिए ।
यही गम्भीर अवस्थालाई बुझेर मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नं. २ सर्लाहीका सभापति कौशलकिशोर रायको अनुरोध र पहलमा सांसद डा. सुनिल शर्माले १० लाख रुपैयाँ मिनाहा गरी मृतक पविता यादवको शव उनका श्रीमानलाई बुझाएर अन्तिम संस्कारका लागि पठाउने व्यवस्था मिलाउनु भयो ।
यो सहयोगले पीडित परिवार मात्र होइन, सम्पूर्ण सर्लाहीवासीलाई एक गहिरो भावनात्मक राहत दिएको छ । डा. शर्माको यो कदमलाई भगवानको दूतले दिएको जीवनको सबैभन्दा ठूलो साथको रुपमा लिइएको छ ।
मन्त्री कौशलकिशोर रायले भावुक हुँदै भन्नुभयोः “आज हामी सर्लाहीवासीका लागि डा. सुनिल शर्मा भगवानसरह भएका छन् । यो दुःखद घडीमा गरिब र बेसाहारा परिवारलाई उहाँले जुन अभिभावकत्व देखाउनुभयो, त्यसप्रति म व्यक्तिगत रूपमा र सर्लाहीको तर्फबाट कोटि–कोटि धन्यवाद ज्ञापन गर्दछु। हामी सदैव ऋणी रहनेछौं ।”
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पु¥याउने प्रतिबद्धता उनले जनाएका छन ।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् । उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन् ।

तपाईको प्रतिक्रिया