
पथरी । जेन जी आन्दोलनको क्रममा पथरी शनिश्चरे नगरपालिका कार्यालय सहित १० वटा वडा कार्यालय तोडफोड तथा आगजनीका कारण ध्वस्त भएसङै सामाजिक सञ्जालबाट राजीनामा दिएका जनप्रतिनिधि र कर्मचारीलाई काममा फर्कन राजनीतिक दलले अनुरोध गरेको छ ।
आज असोज २ गते बसेको राजनीतिक दलको संयुक्त बैठकले ६ बुँदे प्रेस विज्ञप्ति जारी गर्दै जन निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाई काममा फर्कन अनुरोध गरेको हो ।
भदौ २३ गते काठमाण्डौं सहित देशको विभिन्न स्थानमा जेन जी समूहले आन्दोलन गर्ने क्रममा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएसङै २४ गतेको दिन आक्रोशित जनताले सरकारी कार्यालय तोडफोड तथा आगजनी गर्न उत्रिएका थिए ।
आक्रोशित भिडले पथरी शनिश्चरे नगरपालिका कार्यालय, १० वटा वडा कार्यालय, इलाका प्रहरी कार्यालय पथरी, ट्राफिक प्रहरी कार्यालय पथरी, सब डिभिजन वन कार्यालय पथरी, आन्तरिक कर कार्यालय पथरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय, चौतारी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय, नगर प्रमुख मोहन तुम्वापो, उप मेयर देवीमाया काफ्ले र नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाको निजी निवास तोडफोड तथा आगजनी गरेका थियो ।
कार्यालय तोडफोड र आगजनी भएपछि नगरप्रमुख सहित आठ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले सामाजिक संजाल फेसबुकबाट राजीनामा दिएपछि हाल जनताको काम भएको छैन ।
आज बसेको राजनीतिक दलका प्रतिनिधिले आन्दोलनको क्रममा ध्वस्त भएको फर्निचर लगायत उपकरण ऐन बमोजिम पारदर्शी ढङ्गले खरिद व्यवस्थापन गरेर यथाशक्य चाँडो कार्यालय सञ्चालन गरी जनतालाई सेवा दिन अनुरोध गरेको छ ।
नेकपा एमालेबाट दिलीप कुमार राई, नेपाली काँग्रेसबाट कुल बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रको गोविन्द कटवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका हिकमत श्रेष्ठ, नेकपा एसका कर्ण परियार, जसपा (नेपाल) का फिपराज बेघा र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धु्रबकुमार साम्सोहाङले प्रेस विज्ञप्ति हस्ताक्षर गरिएको छ ।
प्रेस विज्ञप्ति आन्दोलनको क्रममा सहिद हुनुभएका श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समावेदन व्यक्त गरिएको छ भने घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । यस्तै आन्दोलनको माग सम्बोधन गर्न आन्तरिक सरकार समक्ष माग गर्दै कार्यालयमा भएको क्षति तथ्यको आधारमा तयार गर्न अनुरोध गर्दै नगर बासीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।






