
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ९ पुल चौकमा रहेको पूर्व क्षितिज एकेडेमी शैक्षिक ब्रान्ड बन्दै गइरहेको छ । २०६४ साल पौष १८ गतेको दिन ४५ जना विद्यार्थीहरू भेला गरेर स्थापना गरिएको पूर्व क्षितिज एकेडेमीमा अहिले तिन सय जना विद्यार्थी अध्ययन गर्छन् ।
स्थानीय योगेन्द्र भण्डारी, कुबेर नाथ भण्डारी, भोजराज चौहान र राजेन्द्र धिमाल सहित ४ जना स्थानीयको सरसल्लाहले काठको खुट्टीलाई बाँसको भाटाले बेरेर कक्षा सञ्चालन सुरु गरिएको विद्यालय अहिले सुन्दर शैक्षिक संस्थाको रूपमा विकास भइरहेको छ ।
कक्षा नर्सरीबाट सुरु गरिएको पूर्व क्षितिज एकेडेमीमा कक्षा ८ सम्म पढाई सञ्चालन भइरहेको छ । १४ जना शिक्षक र ३ जना कर्मचारीले रोजगारी पाएका छन् ।
अहिले यस विद्यालयबाट पास आउट भएर गएका विद्यार्थीले अर्को विद्यालयमा राम्रो नतिजा ल्याएको खबरले सबै भन्दा सन्तुष्टि मिल्ने गरेको संस्थापक प्रिन्सिपल योगेन्द्र भण्डारी बताउनु हुन्छ ।
आर्थिक रूपमा धेरै विकास गर्न नसके पनि विद्यालय सञ्चालन गर्न सकेकोमा आफ्नो परिवारमा सन्तुष्टि रहेको संस्थापक प्रिन्सिपल भण्डारीको भनाई रहेको छ ।

अभिभावकको विश्वास जितेका छौँ, विद्यार्थीलाई मिहेनत गरेर पढाएका छौँ, कुशल शिक्षक/शिक्षिकाबाट कक्षा सञ्चालन गरिरहेको संस्थापक प्रिन्सिपल भण्डारी बताउनु हुन्छ ।
पढाइको अलावा भलिबल, टेबल टेनिस, क्यरमबोर्ड, चेस, क्रिकेट खेल सञ्चालन हुन्छ भने साना विद्यार्थीका लागि छुट्टै प्ले स्टेसन बनाएर खेलकुदमा सहभागी गराउने गरिएको छ ।
प्याब्सनले आयोजना गर्ने विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा सहभागी जनाएर ट्रफि मेडलहरू पनि ल्याएका छन् । स्पेलिङ कन्टेन्ट तथा वक्तृत्व कला प्रतियोगितामा सहभागी भएर विद्यार्थीले प्रथम स्थान हासिल गरेर ट्रफि ल्याएका छन् ।
संस्कार सहितको शिक्षण सिकाइमा अहिले विद्यालय प्रशासनको ध्यान केन्द्रित गरेर काम गरिरहेको संस्थापक प्रिन्सिपल भण्डारी बताउनु हुन्छ ।





