
नगरपासिलकाबाट सम्मानि व्यवसायी सचिन शाक्य र मिश्र वैजयन्ती । तस्वीर मिलनके राउत
मिलनके राउत
उर्लाबारी । उर्लाबारी नगरपालिकाले दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
नगरपालिकाको ११ औं नगरसभाको अवसरमा उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र उर्लाबारी–४ निवासी मिश्र वैजयन्तीलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरिएको हो ।
सबैभन्दा बढी व्यवसाय कर तिर्ने युवा व्यवसायी सचिन शाक्य अध्यक्ष रहेको सिद्धार्थ एग्रीगेट प्रालि र सबैभन्दा बढी घरबाहल कर तिर्ने सप्तकोशी आमावि उर्लाबारीकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिश्र वैजयन्ती सम्मान गरेको थियो ।
नगरसभाको अवसरमा सप्तकोशी आमाविकी मिश्र वैजयन्ती र सिद्धार्थ एग्रीगेटका प्रतिनिधि सुवास शाक्यलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले दोसल्ला, माला लगाएर प्रमाणपत्रद्वारा सम्मान प्रदान गरेका थिए ।
सिद्धार्थ एग्रिगेटले क्रसर उद्योग सञ्चालन गरी बालुवा, गिटी, पेबल्सलगायतका निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । सप्तकोशी आमावि गुणस्तरीय शिक्षा प्रदान गर्ने उर्लाबारीको नेतृत्वदायी निजी विद्यालय हो ।
करप्रति नागरिकको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ । करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीले महसूस गर्ने अपेक्षा लिइएको नगरप्रमुख खरेलले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको उहाँको भनाइ छ । बुधबार उर्लाबारी नगरपालिकाको नगर सभाको एघारौँ बैठक सम्पन्न भएको छ । नगर सभाको बैठकबाट चालु आर्थिक वर्ष २०८०८१ का लागि रु. १ अर्ब २६ करोड ९५ लाख ९ हजार ९ सय ९५ को संशोधित बजेट तथा कार्यक्रम स्वीकृत, आर्थिक (पहिलो संशोधन) विधेयक, २०८० स्वीकृत, विनियोजन (पहिलो संशोधन) विधेयक, २०८० स्वीकृत, उत्कृष्ट करदाता सम्मान, योजना तथा कार्यक्रम संशोधन लगायतका निर्णयहरु भएका छन् ।






