
पुकार राई
पथरीशनिश्चरे, मोरङ – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३अन्तर्गत जारी मोरङ जिल्ला स्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतियोगिताको पहिलो दिनको ४ चरणका खेलहरू सम्पन्न भएका छन् ।
पञ्चायत माध्यमिक विद्यालय, पथरीशनिश्चरे–१ मा जारी प्रतियोगितामा पुरुषतर्फ ७ चरणमध्ये ४ चरण र महिलातर्फ ५ चरणमध्ये ४ चरणका खेल सकिएका छन्। मोरङ जिल्ला खेलकुद विकास समिति, कोशी प्रदेश विराटनगरको आयोजनामा प्रतियोगिता २०८३ असोज ३० र ३१ गते सञ्चालन भइरहेको छ।
महिलातर्फ नुमा अपराजित
महिलातर्फ उर्लाबारीको शिशु शिक्षा सदन स्कुलकी नुमा लिम्बूले ४ खेलमा ४ जितसहित शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा आफूलाई मजबुत बनाएकी छन्। उनी प्रदेशस्तरीय छनोटका लागि छनोट हुने लगभग पक्का भएको छ।
त्यसैगरी बेलबारीकी शान्ति धिमाल, पथरीको कीर्तिपुर एकेडेमीकी समिरा राई तथा पञ्चायत मावि, पथरीकी रेबिका लिम्बूले ३ जित र १ हारसहित ३ अंक जोड्दै दोस्रो स्थानका लागि प्रतिस्पर्धामा रहेका छन्।
पुरुषतर्फ कडा प्रतिस्पर्धा, दुई खेलाडीको शतप्रतिशत जित
पुरुषतर्फ भने उपाधि होड निकै रोचक बनेको छ। चौथो चरणको समाप्तिमा पथरीका दुई खेलाडी तीर्थराज सुब्बा र काशिव कार्कीले शतप्रतिशत जित निकाल्दै ४/४ अंक जोड्दै संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।
त्यस्तै, उर्लाबारीका जिप्सन राई र पथरीका निलम बस्नेतले ३.५ अंक र अन्य ११ जना खेलाडीहरू ३ अंकसहित उनीहरूलाई पछ्याइरहेका छन् ।
प्रतियोगिताको बाँकी चरणका खेलहरू भोलि बिहान ११ बजेदेखि सुरु हुनेछ । अन्तिम चरणको नतिजापछि मोरङ जिल्लाबाट प्रदेश छनोटका लागि जाने ३ पुरुष र ३ महिला खेलाडीहरूको अन्तिम टुङ्गो लाग्नेछ ।






