
पथरी शनिश्चरे नगर खेलकुद विकास समिति तथा आइतबारे क्रिकेट क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ। आठ वर्षअघि उपविजेतामा सीमित भएको वडा नं. ७ ले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो। असार ७ गते भएको फाइनल खेलमा वडा नं. ७ ले ८८ रनको लक्ष्य केवल ८.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाममा गर्यो। टोलीका लागि सुधिर बस्नेतले ३३ बलमा अविजित ६४ रनको विस्फोटक पारी खेले। उनले ९ छक्का प्रहार गर्दै विपक्षी टोलीलाई खेलमा फर्किने कुनै अवसर दिएनन्। बिबेक मोक्तानले अविजित ८ रन तथा आर्यनले ६ रनको योगदान दिए। यसअघि ब्याटिङ गरेको वडा नं. ३ मात्र ११.१ ओभरमा ८७ रनमा समेटिएको थियो। सुरुआती चरणमै सुधिर र सौरभ बस्नेतले समान ३–३ विकेट लिएर विपक्षी टोलीलाई दबाबमा राखेका थिए। उत्सव राईले २ विकेट तथा सिद्धार्थ धिमालले १ विकेट हात पार्दै टोलीको बलिङ आक्रमणलाई मजबुत बनाए। वडा नं. ३ का चेतन खतिवडाले ५१ रनको अर्धशतक बनाए पनि अन्य ब्याटरहरूलाई ठूलो साझेदारी गर्न नदिँदा वडा नं. ७ खेलमा हाबी रह्यो। प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गरेका सुधिर बस्नेत ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। क्वार्टरफाइनलमा वडा नं. ८ तथा सेमिफाइनलमा वडा नं. १ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको वडा नं. ७ ले प्रत्येक चरणमा फरक–फरक खेलाडीको योगदान प्राप्त गर्यो। कुनै खेलमा बलर चम्किए, कुनै खेलमा ब्याटरहरूले जिम्मेवारी सम्हाले भने फिल्डिङमा समेत टोलीले अनुशासित र प्रतिबद्ध प्रदर्शन गर्यो। यही सामूहिक योगदान उपाधिको मुख्य आधार बन्यो। युवा खेलाडीहरू बहुल रहेको टोलीमा अनुभवि कप्तान पुकार राई र बिरोज मगरको नेतृत्व, खेल बुझाइ र दबाबपूर्ण क्षणहरूमा दिएको मार्गदर्शनले टोलीलाई सन्तुलित र आत्मविश्वासी बनाएको थियो। अनुभव र युवाशक्तिको सफल संयोजन वडा नं. ७ को उपाधि यात्राको एक प्रमुख आधार रह्यो।स्थानीय स्तरमा युवा खेलाडीहरूलाई अवसर र विश्वास प्रदान गरिँदा उनीहरूले टोलीको सफलतामा कति महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने उदाहरण वडा नं. ७ ले प्रस्तुत गरेको छ। वर्षौंसम्म वडा नं. १ को वर्चस्व रहेको यस प्रतियोगितामा यसपटक वडा नं. ७ ले नयाँ इतिहास रच्न सफल भएको छ। उपविजेतादेखि च्याम्पियनसम्मको यो यात्रा धैर्य, निरन्तरता, टिमवर्क र विश्वासको उत्कृष्ट उदाहरण बनेको छ।






