पथरी । कीर्तिपुर प्रिमियम लिग यु १४ (पेपिएल १४) को भव्य समापन भएको छ ।
बाल कल्याण माविको मैदानमा सम्पन्न भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा कीर्तिपुर योद्धाले कीर्तिपुर ज्वालालाई पराजित गर्दै उपाधि जित्दै कार्यक्रम भव्य रूपमा समापन भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको योद्धाले १७.४ ओभरमा ११२ रनमा अपआउट हुँदै सम्मानजनक स्कोर बनाएको थियो । कीर्तिपुर ज्वालाले राम्रो सुरुवात गरे पनि दबाबमा नियमित अन्तरालमा विकेट गुमाउँदै गयो । ब्याट्सम्यानले केही सङ्घर्ष गरे तापनि २० औँ ओभरमा १०१ रनमै अपआउट भई ११ रनले पराजित भयो । खेलले अन्तिम ओभरसम्म रोमाञ्च कायम राख्दै दर्शकहरूलाई रोमाञ्चित बनाउन सफल भयो ।
समापन समारोहमा वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत प्रमुख अतिथि र वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
प्रतियोगिताका अध्यक्ष तथा युनिट स्पोट्र्स क्लबका अध्यक्ष पुकार राई ले सफल रूपमा प्रतियोगिता सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता गतिविधिहरूले आधारभूत खेल विकासमा ठुलो भूमिका खेल्ने बताए ।
पथरी शनिश्चरे नगरपालिकाका १० वटा वडाका ८० जना खेलाडीहरूको सहभागिता रहेको यो प्रतियोगिता क्षेत्रीय स्तरमै बाल क्रिकेटको व्यवस्थित विकासतर्फ एक सकारात्मक प्रयासको रूपमा स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया