
विजय खम्बु
पथरी । “केर्खाली” अर्थात सोनाहाङ सबेन्हाङ लिम्बु अहिले ७३ वर्ष पुगे । पथरीशनिश्चरे २ छयालिस बिघेमा बसोबास गरेको ४५ वर्ष भयो । पथरीमा अथक मिहेनत गरेर सम्पती जोडने ब्यात्तीको रुपमा परिचित छन । आजसम्मा फजुल खर्च हुने ठाँउमा नगएको बताउने उनै सोनाहाङ सबेन्हाङ लिम्बुसंग कुराकानी गरि संक्षिप्त कथा यस प्रकार छ ।
नाम सोनाहाङ सबेन्हाङ लिम्बु “केर्खाली”
उमेर ७३
जन्म २००७ मंसिर ३० गते शुक्रबार
जन्मस्थान साविक तमोरखोला खेजेनेम ताप्लेजुङ हाल फक्ताक्लुङ गापा २ ताप्लेजुङ
बसाईसराई २०३२ साल केर्खा झापा÷२०३६ साल साविक पथरी २
२०३६ सालमा पथरीमा बसाई सरेर आएपछि कतै जानै परेन । पथरीले “केर्खाली” सोनाहाङ सबेन्हाङलाई फाप्यो अर्थात “केर्खाली” सोनाहाङ सबेन्हाङलाई पथरी फाप्यो । २०३० सालमा जेठी श्रीमती हर्कमाया आन्साङबो लिम्बुको निधन भएपछि बिरत्तीएका सोनाहाङलाई गाँउ बस्ने जाँगर हरायो । त्यसैले झापाको केर्खामा फडके बन्दकीमा जग्गा लिए । २०३२ सालमा दोस्रो बिवाह गरे नैना साम्रा लिम्बुसंग । दुबै बिवाह मागी हो । लिम्बु परम्परा र संस्कार अनुसार ।
फडके बन्दकी फिर्ता भएपछि २०३६ सालमा केही जोरजाम भएको नगद लिएर पथरी आए र १२ हजार रुपैयाँमा ३ बिघा जग्गा किने । १२ हजारमा ३ बिघा जग्गा किनेपछि पथरी भरी नै हल्ला चल्यो । कहाबाट आएको ? को हो ? कस्तो हो ? यस्तै यस्तै । सोनाहाङको पालो भनिदिन थाले म केर्खाबाट आएको हुँ । म जातले लिम्बु । नाम सोनाहाङ सबेन्हाङ । पथरी आएपछि सोनाहाङ सबेन्हाङ लिम्बुको पथरीमा परिचय बदलिन्छ । पथरीले नयाँ नाम दियो “केर्खाली” । पथरीशनिश्चरे नगर क्षेत्रमा अहिलेपनि केर्खाली नामले नै सोनाहाङ सबेन्हाङ प्रख्यात छ । श्रीमती नैना साम्रा लिम्बु माइला छोरा नविन सबेन्हाङ सहितलाई लिएर पथरी आएका तिनै “केर्खाली” को त्यसबेला छिमेकीहरु हवल्दार कान्छा, पाराली बान्तावा राई खाल, जैराई दर्जी खाल, गुरुङ र मगरहरु, गुइदे दर्जी थिए ।
भरखरै फडानी भएको÷हुदै गरेको ठाँउलाई खेतियोग्य जमिन बनाउन धेरै मिहेनत गर्नु परेको अनुभव छ । चरीको सुली भन्दा मल केही थिएन । अन्न खान किनेको जग्गालाई बाझो फुटाउन, मल बनाउन आवश्यक थियो । त्यसैले दमकको पशु हटियाबाट १ हजारमा एकहल राँगा किने हलोजुवा तयारी नै थियो । ५ सय रुपैयामा राँगागाडा पनि किने । अब सुरु भयो पथरीमा केर्खालीको कर्म गराई ।
राँगागाडाबाट घर बनाउनको लागी खाँबो ढुवानी गर्थे । एउटा खाँबो बोकेको १० रुपैयाँ दिन्थे, अलि ठुलो हुदा १५ रुपैयाँसम्मा लिन्थे । सप्तारियाहरुसंग मिलेर किर्तिपुर केचनादेखी उर्लाबारी मंगलबारे वन डिपोमा राँगागाडाबाट काठ ओसार्थे । बाटो हिलाम्य थियो । हिलाम्यबाटो बाट पनि ३५ किबिको गोलिया काठ केचनाबाट मंगलबारे पुर्याएका कुरा सम्झदा खुसी भन्छन, त्यो काठ कसैले बोक्न नसकेको थियो । मैले र मेरो राँगाले तानेको थियो । त्यसबेला २५ रुपैयाँ कमाएको थिए ।
खेती जोतेको ज्याला राँगा मान्छे सहितको ५ रुपैयाँ दिने चलन थियो । बिहान ६ बजेदेखी दिउसो १२ बजेसम्मा बाँजो ५ कठठा र चास्नी ९ कठठासम्मा जोतेको स्मरण गर्छन । राँगा कहिले बिरामी हुने, कहिले बढी नै थाक्ने गरे पछि पालैपालो काम लगाउन २ हल राँगा बनाए । पछि एक हल गोरु पनि जोडे । राँगा गाडा तान्थ्यो गरुले खेती जोत्थ्यो । त्यसपछि सुङगुरको बिर पालेर चाहीँ राम्रो आम्दानी गरेको बताउछन । आज भन्दा १३ वर्ष अगाडीसम्मा स्थानिय लोकल जातको सुङगुरको बिर पालेको बताउछन ।
२०४२ सालमा १६ हजार रुपैयाँमा एक बिघा जग्गा पुनः किन्न सफल भए । ५० सालमा ५० हजारमा नै १० कठठा जग्गा जोडे । ५३ सालमा १ बिघा जग्गा ३ लाख जोडे । अन्य पनि किनेका छन । करिब ६ बिघा भन्दा बढी जग्गाको मालिक बनेका सोनाहाङ सबेन्हाङ “केर्खाली” संग राँगा गाडामा बिवाहका बेहुलाबेहली बोकेको रोचक कथा पनि छ । बसाईसराई गर्दा होस या कसैको धानसर पनि बोकेको अनुभव सुनाउछन । त्यस बेला गाडी थिएन । अहिले गाडीले गर्ने न्यूनतम काम गाडाले गथ्र्यो । स्मरण गर्छन ।
किरात याक्थुम चुम्लुङको आजिवन सदस्य रहेका सोनाहाङ सबेन्हाङ लिम्बु “केर्खाली” श्रीजङगा धार्मीक वनको संस्थापक कोषाध्यक्ष, हरियाली सामुदायिक वन उपभोत्ता समुहको कोषाध्यक्ष, पथरी लामाटोली पैनी उपभोत्ता समितिको लगायत आधा दर्जन बढी संघ संस्थामा आबद्ध भएर समाजसेवामा लागेका थिए ।
श्रीजङगा धार्मिक वन क्षेत्रमा भवन निर्माण गर्न १ लाख ५० हजार रुपिैयाँ, खेजेनिम आधारभुत विद्यालय ताप्लेजुङलाई १ लाख ५० हजार रकम सहयोग गरे । दमक झापामा रहेको पुरानो आम्दा अस्पतालमा बुबा स्वर्गिय सुवेदार श्रीबहादुर सबेन्हाङको स्मृतीमा सः परिवारले प्रसुतीगृह आवश्यक औजारहरु सहित हस्तानतरण गरेका थिए । पथरी नगर अस्पताललाई स्थानिय चलनचल्तीको मुल्य अनुसार ३ करोड मुल्य पर्ने ३ कठठा जग्गा दान गरे । गाँउघरमा बाटो निर्माण गर्दा, मन्दिर निर्माण गर्दा बिघाको हिसावले पैसा दिन्थे, बाटो बनाउदा केर्खालीको त गाडा छ र पो बाटो बनाउछ भनेर गाउलेहरुले कुरा गरेको तितो अनुभव सुनाए ।
२०७३ असार २४ गतेको दिन हरियाली सामुदायिक वन उपभोत्ता समुहको बैठकमा सहभागी हुन कार्यालय परिसरमा पुगेर बसीरहेको बेला उच्च रत्तचापको कारण प्यारालाइसिस भयो । अहिले देब्रे हाल अचल छ । खुट्टाले सामन्य मात्रै काम गर्छ । अन्यको सहाराले मात्रै हिडडुल गर्न सक्छन । अहिले साइला छोरा बुहारी बिजय सबेन्हाङ लिम्बु र सन्ध्या कार्की लिम्बुसंग बस्छन । यो बृद अवस्थामा सबै छोरा बुहारी छोरी ज्वाइहरु माया ममता पाएको बताउछन ।छोरालाई १५ कठठाको दरले अंस दिए । छोरीहरुलाई ५ कठठाको दरले दाईजो दिए । केही जग्गा उपचारको लागी बेचे र बाँकी २ बिघा जग्गा आफनो जिउनीका लागी राखेको बताउछन ।
४ छोरा÷बुहारी, ४ छोरीज्वाइ ११ नातिनातिनी का धनी केर्खाली मैले गर्नु पर्ने श्रीजङगा वनमा थुप्रै कामहरु छ । हरियाली वनमा पनि थुप्रै कामहरु छ । तर यो हातपाउ चल्दैन । आफुले काम गरेको ठाउहरु हेर्ने मन छ । कस्तो भयो । कस्तो हुदैछ ।






