
विजय खम्बु
पथरी । पथरी मोरङको कथा, कहानी र इतिहास लेख्दा वा खोतल्दा वर्ष ८० का वीरबहादुर बस्नेतको नाम लेखिएन भने अधुरो नै हुन्छ । किन भने वीरबहादुर बस्नेतले पथरीको विकास निर्माण, शैक्षिक संस्था निर्माण, स्वास्थ्य संस्थाको निर्माण र हाट बजार स्थापना, प्रहरी चौकी हाल इप्रका ल्याउन पहल गरेको मठमन्दीर स्थापना, खानेपानीको स्तरउन्नती खेलमैदान निर्माण, वन संरक्षण लगायतका सामाजिक काममा अब्बल भुमिका रह्यो ।
हाल काठमाण्डौं मण्डीखाटारमा छोरा डा. भुपेन्द्र बस्नेतसंग बस्छन् । उपचारको लागी काठमाण्डौंमा रहेका बस्नेतको मन पथरीको गल्ली टोल चौक र मन्दिरहरुमा नै डुल्ने बताउछन ।
खार्तम्छा ६ भोजपुरमा २००१ माघ २१ गते बिहिबार जन्मीएका बस्नेत सोही गाउँ पंचायतको २०२४ सालमा २४ वर्षको उमेरमा उपप्रधानपंच निर्वाचित भएका थिए । दोस्रो कार्यकाल पनि उपप्रधानपंच र भोजपुर जिल्ला सभाषदको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान तथा जिल्ला सभाषद रहदा ३ वटा स्कुल, खेतीका लागी कुलो गाउँगाउँसम्मा पुगेको थियो । २०३५ सालमा जन्मथलो छाडेर पथरी बसाई सरेर आएका हुन ।
श्रीमतीसंग वीरबहादुर बस्नेत
२०३१ सालमा ९ हजार रुपैयाँ बिघाले पथरीमा २ बिघा जग्गा किनेर बाबु श्रीमती सहित आएका थिए । पछि आफनो कार्यकाल सम्पन्न भएपछि गाउँ पंचायतको हिसावकिताव वरबुझारथ गरी सबै घरपरिवार बसाईसरी आएको बताउछन । बस्नेतले पथरीमा जम्मा ५ बिघा १५ कठठा जग्गा जोडेका थिए । छोराछोरी पढाउदा धेरै जग्गा बेचेको बताउछन ।
पथरीमा बसाई सरेर आउदा पथरी बजार पुरै झोडा अवस्था नै रहेको स्मरण गर्छन । वन कार्यालयका कर्मचारीले थर्काउदै उठाउन खोजेको बेला, स्थानियहरु एकजुट भएर वन कर्मचारीको प्रतिकार गर्थे । वन कर्मचारीले पथरीलाई उठान क्षेत्र घोषणा गरे पछि पूर्व भ्रमणमा रहेका राजा बिरेन्द्रलाई धनकुटामा दर्शन भेट गरि बसोबासीहरुको प्रतिकुलताको बारेमा जानकारी गराए । राजाबाट बसोबास प्रमाणको निस्सा माग भए बमोजिम एउटा वि.स. १९७५ सालतिर धिमाल समुदायका एक अगुवालाई सरकारबाट दिएको चिर्कटो देखाए । त्यो चिर्कटो बस्नेतको गोजीमा बोकेर लगेका थिए । त्यही चिर्कटोको आधारले अहिलेको पथरी बजार बसोबास क्षेत्र भएको बस्नेत सम्झन्छन ।
पहाडको राजनिति छोडेर वयस्क उमेरमा पथरी झरेका वीरबहादुर बस्नेत खेती वा ब्यापार गरेर बस्ने कुरै भएन । राजनितिसंगै समाजसेवामा लागे । हाल नमुना पंचायत माबि भएको स्थानछेउमा पथरीका प्रधानपंच कर्णबहादुर राईले मन्दिर बनाएका थिए रे । त्यो मन्दिरको ठाउमा स्कुल बनाउने प्रस्ताव लगेर जाँदा राईले सहमति जनाएपछि पंचायत माबि बनाएको बताउछन ।
स्थानिय कर्णबहादुर राई, टेकबहादुर बिष्ट लगायत पथरीका समाजसेवीहरुले जंगल फाडेर त्यो पंचायत माबि स्थापना भयो । अहिले नमुना पंचायत माबि भएको छ । पछि बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत भएर काम गरे । विद्यालय बनाउदा जंगल फाडनु पर्ने भयो । जंगल फाडदा वन मुद्धा समेत लागेको यथार्थ सम्झन्छन ।
हनुमान चौकमा रहेको रामजानकी हनुमान मन्दिर, मन्दिरलाइनमा रहेको नर्वदेश्वर मन्दिर, भुल्के जालपादेवी मन्दिर बस्नेतकै नेतृत्वमा स्थापना भएको हो ।
पथरी खानेपानी तथा सरसफाई समितिको २०६२ साल माघ देखी २०७९ जेठ २८ सम्मा अध्यक्ष भएर नेतृत्व गरे । शान्ती सामुदायिक वन उपभोत्ता समुहको संस्थापक कोषाध्यक्ष हुन । प्रस्तावित पथरी रंगसाला निर्माण, पथरी चौकी इप्रका पथरी भवन निर्माण तथा जग्गाखोजविन गर्न, पथरी स्वास्थ्य चौकी स्थापना लगायत महत्वपूर्ण योगदान रह्यो ।
पथरीमा अहिले हप्तामा २ पटक आइतबार र बिहिबार हटिया लाग्छ । यो हटिया लगाउन बस्नेतले सिडियो कार्यालयमा गएर बजार स्वीकृत गर्न धेरै पटक धाएको स्मरण गर्छन ।
पथरी बहुमुखी क्याम्पस निर्माण गर्न सबै भन्दा धेरै आर्थिक सहयोग गरेर पहिलो चन्दादाता समेत घोषित भएका थिए ।
जेठो छोरा पुष्पबहादुर बस्नेत युएनमा अधिकृत छन । माइला छोरा डा. भुपेन्द्र बस्नेत वीर अस्पताल काठमाण्डौंको निर्देशक तथा नाम्सको निर्देशक छन । कान्छा छोरा खगेन्द्र उद्योग मन्त्रालयको औद्योगिक इन्जीनियरिङ निर्देशक हुन ।
१९ जना नातिनातिनीका हजुरबुबा २ जना पनातीहरु छन । नतिनातिनी ७ जना डाक्टर ४ जना इन्जीनियर छन । तस्वीर वीरबहादुर बस्नेतको सामाजिक संजाल फेसबुकबाट साभार गरिएको






