
अर्जुन काफ्ले
पथरी । मोरङको उर्लावारी ८ सिसौलीमा प्रथम सिसौली च्यालेन्ज कपको फाइनलका खेल हुँदै गर्दा आयोजकले सहयोगी दाताको लामै नाम वाचन गरे ।
सिसौली युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा राम्रै आर्थिक संकलन भयो । आर्थिक सहयोग गर्नेहरु प्राय विदेशमा रोजगारी गरिरहेका नै हुन ।
मलेसिया लगायत खाडी मुलुक र दक्षिण कोरीयामा रोजगारी गरिरहेकाहरुको आर्थिक सहयोगमै मोफसलमा यस्ता प्रतियोगिता टिकिरहेका छन । प्रतियोगिता आयोजनाका लागि आयोजकलाई उल्लास भर्नेहरु नै वैदेशिक रोजगारीमा गएका स्थानियहरु हुने गरेका छन ।
सिसौलीका युवाहरुले सिसौली च्यालेन्ज कप आयोजना गर्ने निर्णय गर्दै गर्दा वैदेशिक रोजगारीमा गएका युवाहरु नै आर्थिक सहायताको खम्बा बने । च्यालेन्ज कपमा ५ हजार रुपैयाँ देखी ८० हजारसम्म सहयोग गर्ने सहयोगी वैदेशिक रोजगारीमा गएका स्थानीय युवा थिए । मोफसलमा आयोजना हुने यस्ता फुटबल प्रतियोगितामा कुनै व्यवसायीक घराना वा संस्थाको प्रायोजन हुदैन । व्यावसायीक संस्थाको प्रयोजना भित्राउन निकै गाह्रो हुने अनुभव छ सिसौली युवा क्लबका अध्यक्ष रञ्जीत लिम्बुको ।
उनी भन्छन, ‘सामान्य किसीमका फुटबल प्रतियोगिता गर्न प्रायोजक नै भेटिदैनन् । कानुनी अड्चन देखी अन्य कारणले पनि उनीहरुको लगानी भित्र्याउन कठिन भएको हो ।
ठुला शहरमा आयोजना हुने फुटबल प्रतियोगितामा व्यवसायीक घरानाहरुले लगानी गरे पनि गाँउमा हुने प्रतियोगितामा वैदेशिक रोजगारीमा जाने फुटबल प्रेमी नै आर्थिक सहयोगीका रुपमा रहने गरेका छन । विदेशबाट माया गरेर फुटबल प्रतियोगिता गर्न खर्च पठाउने चलन छ यसै कारण अहिले फुटबल प्रतियोगिता गर्न सम्भव भएको उर्लावारीका प्रेम लिम्वुको भनाइ छ ।
लेटाङ नगरमा आयोजना हुने फुटबल प्रतियोगिता सम्पन्न गर्न आथिक सहयोग पनि वैदेशिक रोजगारमा गएका युवा नै जुटाइदिइरहेका छ्न । वैदेशिक रोजगारीका लागी मलेसिया, खाडी र कोरीया पुगेका फुटबल प्रेमीले सहयोगले फुटबल प्रतियोगिता सन्चालन भइरहेको छन। नगर भित्र मात्रै यो बर्ष ४ वटा प्रतियोगिता सम्पन्न भए भने अरु २,३ वटा प्रतियोगिता हुने चरणमा छ्न ।
वडा कार्यालय, नगरपालिका लगायतका सरकारी कार्यालयमा प्रतियोगिता सन्चालनका लागि सहयोग माग्दा समयमै रकम सहयोग हुन नसक्दा पनि दाताकै भर पर्नु परेको लेटाङका खेलप्रेमी राजु गौतम बताउछन ।
पछिल्लो समय सामाजिक सन्जालको प्रयोगबाट आर्थिक संकलन गर्न सहज भएको प्रतियोगिता आयोजकहरुको भनाइ रहेको छ । नेपालमा रहेका व्यवसायीक घरनाहरुले यस्ता प्रतियोगितामा प्रायोजन गर्न धेरै कुराको जोड घटाउ गर्ने गरेकाले पनि आयोजकहरु व्यापारीक घराना समक्ष पुग्ने गरेका छैनन । कुनै ठुला गोल्डकपमा लगानी खन्याउनेहरु सासाना फुटबलका प्रतियोगिताका आयोजकहरुलाई वास्तै नगर्ने आयोजकहरु बताउछन ।
पहिला फुटबल खेलेका पूर्व खेलाडीहरुले नै अग्रसर भएर यस्ता प्रतियोगिता सन्चालन गर्न आर्थिक सहयोग दिदैछन्,ु सिसौली क्लबका अध्यक्ष लिम्वुले भने, प्रतियोगिता संचालनका लागि आर्थिक संकलन जुटाउन वैदेशिक रोजगारीमा गएका कै मुख ताक्नु पर्ने हुदा र आर्थिक कारण नै प्रतियोगिता स्तरीय वन्न सकेका छैनन ।
यता, व्यवसायिक घरानाहरुको भनाइ फरक छ । आयोजकहरु संगठित नभइ रहरका रुपमा प्रतियोगिता संन्चालन गर्दै आएकाले पनि प्रयोजनका रुपमा ठुला व्यापारीक घरानाको सहयोग हुन नसकेको व्यापारीहरुको तर्क छ ।
कसैले प्रयोजन गर्नु भनेको उस्को व्यापारीक प्रचारका लागि पनि हो । आयोजकहरु प्रस्ताव लिएर मात्र आउने तर कुनै कानुनी प्रक्रिया पुर्याउन झन्झट मान्ने गरेका कारण पनि व्यापारीहरुले त्यस्ता प्रतियोगिता लगानी गर्न सकिरहेको छैन, एक मदिरा कम्पनीका प्रतिनिधीले भने ।






