काठमाडाैं । ललितपुरको बालकुमारीमा प्रहरीको बल प्रयोगबाट २ युवक मारिएको घटना छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो।
–उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने
–उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जो कोहीलाई कारबाहीको सिफारिस गर्ने
–आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ (एक) महिनाभित्र पेस गर्ने।
यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिसकिएको छ।
गत शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो। सरकारले उनीहरुका परिवारलाई १०/१० लाख दिने निर्णय यसअघि नै गरिसकेको छ।






