
उर्लाबारी, मोटरसाइकल चोरी गरेको आरोपमा उर्लाबारी प्रहरीले पक्राउ गरी मुद्दा चलाएको व्यक्तिलाई मोरङ जिल्ला अदालतले कैद सजाय निर्धारण गरेको छ । नेपाल र भारतका विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल गरी करिब २५ वटा सवारीसाधन चोरी गर्ने आफुलाई सन्तोष थापा बताउने मनिकुमार तामाङलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको हो । यस्तै, स्कुटर चोरीसम्बन्धि मुद्दामा उनलाई छुट्टै एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
चोरीमा संलग्न तामाङले एकजना बालक लिएर हिँड्ने, मानिसहरुको विश्वास जितेर सवारीसाधनको रेकी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । उनले विभिन्न मितिमा २५ वटा बाइक तथा स्कुटी चोरी गरेको स्वीकारेको उहाँले जानकारी दिनुभयो । तामाङलाई गत पुष २१ गते नियन्त्रणमा लिइएको हो । प्रहरी निरीक्षक दासका अनुसार मोरङको मिक्लाजुङ ३ धोबेनीका गोपाल तामाङको को ३८ प ११०५ पल्सर मोटरसाइकल चोरी गरी लैजाने क्रममा उनी पक्राउ परेका थिए । यसपघि विभिन्न मितिमा सवारी साधन चोरी गरेको उनले क्रमैसंग बयान दिएका थिए । भारत दार्जिलिङ फासिदेवान बस्ने दुर्गा तामाङको नम्बर याद नभएको मोटरसाइकल १ थान, मोरङ मिक्लाजुङ ९ का सन्देश मगरको टिभिएस कम्पनीको स्कुटी १ थान, इलाम दानाबारीमा होटलको पार्किङ स्थलबाट चोरी गरेको स्कुटी १ थान, भारतका विभिन्न स्थानबाट मेटरसाइकल ५ थान मोटरसाइकल चोरी गरेको तामाङले बयानमा खुलाएका थिए । उनलाई झापा मेचीनगर ११ का मनबहादुर लामाको आइफोन ८ चोरी गरेको आरोपपनि छ । मोरङ बेलबारी नगरपालिका ४ स्थायी ठेगाना भएका तामाङले भारतको पश्चिम बंगालस्थित बागडोग्रामा डेरा लिइ नेपाल भारत दुवैतर्फ आपराधिक गतिविधि संचालन गर्दै आएको प्रहरीेको मुद्दा अभियोजनमा उल्लेख छ । तामाङको साथबाट दुईवटा मोटरसाइकल र एक थान स्कुटी उर्लाबारी प्रहरीले बरामद गरिसकेको छ । शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी भएका र ति घटनामा अन्य व्यक्तिपनि संलग्न हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दासको भनाई छ ।






