
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न. ८ ले संचालन गरको १ महिने साकेला सिली प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
किरात फाल्गुनन्द युमा माङहिमको सभाहलमा आज चैत्र ३ गते शनिबार एक कार्यक्रमको आयोजना गर्दै साकेला सिली प्रशिक्षण कार्यक्रम समापन भएको हो ।
वडा न. ८ मा राई समुदायको बसोबास बाहुल्यता रहेपनि साकेला सिली नाच्न नजान्ने भएको हुँदा वडा कार्यालयको पहलमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष नविनजंग कार्कीले जनाए ।
सिली प्रशिक्षणमा करिब ४५ जना स्थानिय राई, लिम्बु, मगर, विश्वकर्मा, भुजेल समुदायका कलाकारहरुलाई प्रशिक्षक पर्वत चाम्लिङ राईले १ महिनासम्मा प्रशिक्षण संचालन गरेका थिए ।
समापन कार्यक्रममा प्रशिक्षक पर्वत चाम्लिङ राईलाई वडा अध्यक्ष नविनजंग कार्कीले मायाको चिनो प्रदान गर्दै सम्मान गरे ।
सबै समुदायको साँस्कृतिक पक्षलाई संरक्षण गर्ने उदेश्यले वडाको सिलिङ बजेटबाट ५० हजार रुपैयाँ छुट्टाएको बताउदै यो बजेटबाट ढोल, झ्याम्टा, चौरीको पुच्छर, खुर्मी पनि खरिद गरिने वडा अध्यक्ष कार्कीले बताए ।
गत साल लिम्बु समुदायको डाल नाँच प्रशिक्षण कार्यक्रम संचालन गरेको अब आउने वर्ष मगर समुदायको हुर्रा नृत्य प्रशिक्षण कार्यक्र संचालन गर्ने रहेको वडा अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रिय समितिका उपमहासचिव अर्जुन जम्नेली राई, फोनिज मोरङका अध्यक्ष दिनेस सुब्बा सहित स्थानिय जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।





