पथरी । पथरी नगर अस्पतालमा कार्यरत सफाई कर्मचारीको प्रत्यक्ष संलग्नता र मिलेमतोमा बिर्तामोडको एक निजी अस्पतालका फोहोर मैला पथरी शनिश्चरे नगरपालिकाले प्रयोग गर्दै आएको डम्पीङ साइटमा डम्पीङ गर्ने गरेको खुलेको छ ।
विगत केही वर्ष अगाडीदेखी सफाई कर्मचारीको रुपमा नियुत्ती पाएका पथरी शनिश्चरे नगरपालिका वडा न. २ का दिलिप मल्लिकको प्रत्यक्ष संलग्नतामा विर्ता सिटि अस्पतालको रसायनिक फोहोर लगेर डम्पीङ गर्ने गरेको रहस्या खुलेको हो ।
चैत्र २० गते मंगलबार राती ९ः४५ बजेको समयमा पथरी शनिश्चरे नगरपालिकामा कार्यरत नगर प्रहरीको टोलीले छडके चेक जानेक्रममा डम्पीङ साइटमा को २ च ३३२२ नम्बरको गाडीबाट फोहोर मैला अनलोड गर्ने तयारी गर्दै गर्दा रंगेहात दिलिप मल्लिक सहित गाडी चालक विनोद थारु र सहचालक शुसिल चौधरी पक्राउ परेका थिए ।
वातावरण प्रदुषण तथा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने अस्पतालबाट निस्कीएको फोहोर मैला क्यनोला, सिरिन्ज, रगत लतपतिएका ब्यन्डेज कालो प्लाष्टिकमा पोका पारिएको अवस्थामा ल्याइ रातीको समयमा पथरीको डम्पीङ साइटमा डढाउने गरेको समेत खुल्न आएको छ ।
डम्पीङ साइटबाट निस्कीएको धुँवाले आँखा पोल्ने सास फेर्नै गाह्रो हुने समस्या आएपछि पथरी शनिश्चरे नगरपालिका वडा न. १ का अगुवाहरुले नगर प्रमुख मोहन तुम्वापोको कार्यकक्षमा डेलिगेसन गएर फोहोर मैला ब्यवस्थापन गरिएको स्थानमा आगो नलगाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
नगर प्रमुख मोहन तुम्बापो समक्ष पथरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङले जोसुकै भए पनि कारबाही गरेर जानुपर्ने माग गरेका छन । सुनाखरी माबि पथरी शनिश्चरे १ का स्कुल ब्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईले स्थानिय स्तरबाट उत्पादन भएका फोहोर मैला ब्यवस्थापनमा नै समस्या भइरहेको अवस्थामा बाहिरी अस्पतालको फोहोर ल्याएर डिस्पोज गर्ने काम भएको हुनाले कानुनी रुपमा कारबाही गर्नुपर्ने बताए । यस्तै पथरी शनिश्चरे नगरपालिका १ ब्यवसायी रामकुमार राईले पनि यो कार्यमा संलग्न कर्मचारी सवारी साधनलाई समेत कारबाहीको माग गरेका छन ।
नगर प्रमुख तुम्बापोले सवारीलाई कानुन अनुसार कारबाही गर्ने र कर्मचारीको हकमा पनि कारबाही गर्ने प्रतिवद्धता जनाए ।
आज पथरी शनिश्चरे नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यको कार्यकक्षमा इलाका प्रहरी कार्यालय पथरीको प्रतिनिधी, संचारकर्मी र स्थानिय अगुवाहरुको भेलाले सरजिमिन मुचुल्का तयार गरेर खाल्डो खनी डिस्पोज गर्ने तयारी भएको छ ।
स्वास्थ्य शाखा प्रमुख आचार्यका अनुसार विर्ता सिटी अस्पताल बिर्तामोड झापाको फोहोर मैला रहेको पुष्टी गरेका छन । गाडीमा रहेको फोहोर मैलामा अस्पतालको कागजात भेटिएपछि अस्पाताल प्रशासन शाखासंग जानकारी माग्दा विर्तामोडकै सन्तोष मल्लिक र सुनिल मल्लिकसंग फोहोर मैला सम्बन्धी सम्झौता गरेको जानकारी दिएको बताए । कहाँ कसरी डिस्पोज गर्छौ भनेर सोध्दा आफहरुको ब्यात्तीगत डम्पीङ साइट रहेको सम्झौतामा उल्लेख भएको मौखिक जानकारी आएको प्रमुख आचार्यले बताए ।
यता पथरी नगर अस्पतालमा सफाई कर्मचारीमा कार्यरत दिलिप मल्लिकसंग यस विषयमा जानकारी माग्दा आफु सहितलाई नगर प्रहरीले पक्राउ गरेको स्वीकार गर्दै यस भन्दा अगाडी आफनो संलग्नता नरहेको प्रष्टीकरण दिए ।

तपाईको प्रतिक्रिया