
दमक । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुत्त प्रहरी टोलीले १३ वटा सहकारी संस्था चोरी गर्ने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ वर्ष ३० का सोमलाल स्याङ्तान, वर्ष २१ का सुनिल भनिने सन्त बहादुर स्याङ्तान, वर्ष २२ का सुनिल स्याङ्तान, वर्ष २५ का बुद्ध स्याङ्तान, वर्ष २६ का सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का वर्ष २८ अजय राना मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबत्ता डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।
चोरी संलग्न उनिहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीको बिभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भइएको प्रहरीको भनाई रहेको छ । उनिहरुलाई बैसाख ७ गते पक्राउ गरेको थियो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको जनाइएको छ ।
उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई झापा जिल्ला अदालतमा चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






