
पथरी । पथरी शनिश्चरे नगर पालिकामा नै पहिलो मोटरसाइकल ग्यारेज “छोटु मोटरसाइकल ग्यारेज” छोटु आलमले संचालनमा ल्याएका थिए ।
२०५२ सालबाट पथरी बजारमा ग्यारेज स्थापना गरि संचालनमा ल्याउने ब्यात्तीको रुपमा वर्ष ४९ का छोटु आलमलाई चिनिन्छ ।
त्यसबेला पथरीमा कुमार विक, भिम शङकर, लछुमन गजमेर, टेक बहादुर राई, लोकबहादुर डाँगी, वसन्त डाक्टर, श्याम श्रेष्ठ, बलराम राई, टेक बहादुर राई र जिएस सरको मात्रै मोटरसाइकल चलाउने गरेको स्मरण गर्छन ।
आलमले स्थापनाकालमा राम राना मगरको घरमा मासिक ३ सय रुपैयाँ बहाल तिर्ने गरि बसेको थिए । ३ महिनासम्मा काम नभए पछि राना परिवारले भाडा छुट गरिदिएको छोटु बताउँछन ।
काम नभएको बेला ३ महिनासम्मा खाना बोहोरा होटलमा खाएको बताउँछन । खानाको पैसा पछि कमाउन थालेपछि तिरें ।
१५ वर्षको उमेरदेखी नै मोटरसाइकलको ग्यारेजमा काम सिकेका छोटु आलम पथरीमा आउँदा खाली हात र एक्लो ज्यान आएको बताउछन । पसल संचालन भएपछि मान्छे आउन थाले, पार्टपुर्जा राख्न पैसा थिएन । स्व. बलाराम राई र स्व. टेक बहादुर राईबाट १० हजार रुपैयाँ सापटी लिएर पसलमा आवश्यक पाटपुर्जा राखेपछि छोटु आलम यति ब्यस्त भए, कहि कतै जाने फुर्सद नै भएन ।
यहि ग्यारेजको कमाइबाट छोटु आलमले पथरी शनिश्चरेमा घडेरी किनेर घर बनाए, बिवाह पछि, १ छोरा २ छोरीलाई पढाइरहेका छन । अहिले पनि पथरी शनिश्चरे १ मन्दिरलाइनमा वर्कसप संचालन गरिरहेका छन ।
पहिले जस्तो अहिले ब्यापार नभए पनि काम भने खाली नभएको छोटुको भनाई रहेको छ । अहिले उनिसहित ४ जनाले काम गरिरहेका हुन्छन । पथरीमा आएपछि २५ जना भन्दा बढीलाई मोटरसाइकल बनाउन सिकाएको उनि बताउछन । काम सिकेर गएकाहरुले गरिखाएको देख्दा आफुलाई आनन्द लाग्ने गरेको बताउँछन ।






