पथरी । लागुऔषध प्रयोगकर्ताहरु बढेको जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय पथरीले हाल किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्र गतिमा अगाडी बढाएको छ ।
लागुऔषध प्रयोग गरेर सवारी चलाउने, सार्बजानिक ठाउँमा हल्ला गर्दै हिडनेहरुलाई नियन्त्रणमा लिएर किटको माध्यमबाट चेकिङ अभियानलाई तिब्रगतिमा अगाडी बढाएको हो ।
प्रहरीले ४ दिन भित्रमा ४० जना बढीलाई नियन्त्रणमा लिएर चेकिङ गर्दा गाँजा तथा लागुपदार्थजन्य औषधीहरु प्रयोग गरेको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक ब्रम्हादेव शाहले जनाएको छ ।
बजार तथा बस्तीहरुमा चोरीको घटना अत्याधिक बढेपछि इप्रका पथरीले पथरी नगर अस्पतालसंगको समन्वय गरि किटजन्य प्रबिधी भित्राएर चेकिङ अभियान सुरुवात गरेको थियो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दाहालका अनुसार प्रयोगकर्ताले कस्तो लागुऔषध प्रयोग गरेको हो, पिसावको माध्यमबाट चेकिङ गर्दा पत्ता लागाउन सकिने प्रविधी रहेकोले चेकिङ अभियान सहज भएको जानकारी दिए ।
चेकिङको क्रममा लागु औषध प्रयोग गरेको पोजेटिभ भेटिएकाहरुलाई अभिभावकको समन्वयमा सुधारगृह पठाउने काम भइरहेको डिएस्पी दाहालले जानकारी दिए । लागुऔषध प्रयोग गरेर होहल्ला चोरी चकारी गतिबिधी गरेको पाइए सरजिमिन मुचुल्का उठाएर मुद्धापनि चलाउने तयारी गरिरहेको डिएस्पी दाहालको जनाए ।


परिवारका कोही सदस्यहरु शंकास्पद रुपमा भेटिएमा उनिहरुलाई अभिभावक स्वयमले पनि पथरी नगर अस्पतालसंग समन्वय गरेर चेकिङ गर्न सकिने ब्यवस्था गरिएको पथरी शनिश्चरे नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिए ।
नगरपालिका क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरु अत्याधिक बढेको जनगुनासो बढी आएको हुनाले चेकिङ र कारबाही अभियानलाई निरन्तर अगाडी बढाउन पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाया काफ्लेले प्रहरीलाई निर्देशन दिएकी छिन । प्रहरीलाई साथ र सहयोग गर्न जनप्रतिनिधी, स्थानिय सचेत नागरिकहरुलाई अनुरोध समेत गरेकी छिन ।

तपाईको प्रतिक्रिया