विजय खम्बु
पथरी । पथरी शनिश्चरे नगरपालिकाको जम्मा क्षेत्रफल ७९.८१ बर्ग किलोमिटर छ । ९ हजार ५ सय ९८ हेक्टर क्षेत्रफल कृषियोग्य जमिन छ । नगरपालिकाको तथ्याङक अनुसार ८५ प्रतिशत कृषि क्षेत्र रहेको छ । तर किसानको घर घरमा पुगेर प्रत्यक्ष साक्षत्कार गर्ने संस्थागत रुपमा उत्साही साना किसान सहकारी संस्था लि. मात्रै हो भन्दा फरक नपर्ला ।
पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा कृषिसंग सम्बन्धीत रहिएर दर्ता भई संचालनमा रहेका धेरैवटा संस्थाहरु छन । तर दैनिक रुपमा किसानसंग प्रत्यक्ष रुपमा अग्रभागमा रहेर काम गर्ने उत्साही साना किसान सहकारी संस्था लि. पथरी शनिश्चरे १ नै हो भन्दा अत्यायुत्ती नहोला ।
संस्थाका अध्यक्ष बिन्दु राई, प्रबन्धक आइत कुमारी तुम्बापो राई बिमा उपसमिति संयोजक पदम प्रसाद दाहाल सहितका ब्याक्तीहरु प्राय फिल्डमा नै हुन्छन । संस्थाको नेतृत्व फिल्डमा रहेर काम गर्दा धेरै कुरा सिक्ने र सिकाउने काम हुने भएको हुँदा राम्रो भएको अध्यक्ष बिन्दु राईको भनाई रहेको छ ।
असार मसान्तसम्मको डाटा अनुसार यस संस्थामा एक हजार सात सय सत्तरी जना शेयर सदस्यहरु चार सय दुई समुहमा रहेर काम गरिरहेका छन । अधिकांस शेयर सदस्यले पालेको गाई, गोरु, भैंसी, बाख्रा, बंदेल र सुंगुरको पशु सुरक्षा बिमा पनि संस्थाले गर्ने गरेको छ । ठुलो पशुलाई समुहका सदस्यहरु भेला भई चलनचल्तीको आधारमा मुल्याङकन गरिएको रकम मध्यको १ (एक) प्रतिशत र सानो पशुको हकमा जोखिम बढी हुने भएकोले १.५ (डेढ प्रतिशत) प्रतिशतले शुल्क लिने गरेको बिमा उप संमिति संयोजक दाहालको भनाई रहेको छ । गत आर्थिक वर्षमा १२ वटा पशुधन बिमा भुक्तानी गरिएको दहालले जानकारी दिए ।
संस्थाले किसानहरुलाई अनुदान र प्रतिशतको आधारमा छुट गरेर तरकारी जन्य वस्तुको विउ र प्राङगणिक मल वितरण गर्दै आएको संस्थाकी सह प्रबन्धक सारिका भट्टराईले बताइन ।
पाटीगाउँ साना किसान सहकारी संस्था मोरङले उत्पादन गरेको कुचो, चौदण्डीगढी साना किसान सहकारी संस्था उदयपुरले उत्पादन गरेको बेसार र पृथ्वीनगर साना किसान सहकारी संस्था झापाले उत्पादन गरेको चियालाई सहकार्य गरि विक्री वितरण गर्दै आइएको प्रबन्धक आइत कुमारी राई तुम्बपोले बताइन ।
उत्साही साना किसान सहकारी संस्था लि.ले पहल गरेर पथरी शनिश्चरे २ बोक्रेचौकमा उचित जैविक मल उद्योग स्थापना भई प्राङगणिक मल उत्पादनको काम भइरहेको छ । रसायनिक मलको साटो यो मल प्रयोग गर्दा उत्पादन बढी हुने गरेको बताइन्छ । रसायनिक मलमा सरकारले जसरी लगानी गरेकै आधारमा प्राङगणिक मलमा लगानी गर्नुपर्ने कृषि विज्ञहरुको सुझाब रहेको छ ।