
पथरी । न्यू गोर्खाली पाउरोटी उद्योग पथरी शनिश्चरे नगरपालिका १ मोरङमा २०५० सालमा स्थापना भएको हो ।
न्यू गोर्खाली पाउरोटी उद्योगको इतिहास खोज्दा ३७ हजार रुपैयाँको पहिलो लगानीबाट सुरुवात भएको यो ब्यवसाय, १२ वर्ष भाडाको घरबाट १० जना मजदुर सहितले संचालन भएको थियो ।
इट्टा र माटोबाट बनाएको भट्टीमा दाउरा बालेर बिभिन्न प्रकारका बिस्कुट हातले बनाएर बजार पुर्याइन्थ्यो ।
स्थापनाकाल देखी २०६२ सालसम्म प्रतिदिन करिब ५÷६ बोरा मैदाबाट उत्पादन गरिएको विष्कुट बजारमा खपत हुने गरेको कुरा संचालक तुलसी ढकालले स्मरण गर्नुहुन्छ ।

२०६२ सालबाट भने उद्योगको मन्दिरलाइन स्थित आफ्नै भवनबाट ब्यवसायलाई फराकिलो बनाएर लगिएको कुरा संचलिका राधा ढकाल बताउनुहुन्छ ।
३२ वर्ष अगाडी इट्टा र माटोबाट सुरुवात गरिएको त्यो उद्योग २०६५ सालबाट अत्याधुनिक प्रविधिमैत्री मेसिनहरुबाट सेवा विस्तार गरिएको छ ।
३७ हजार रुपैयाँ सुरुवाती लगानीबाट स्थापना गरिएको गोर्खाली पाउरोटी उद्योग अहिले ३ करोड ५० लाख लगानी भएको छ ।
यस उद्योगमा अहिले ३५÷४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।
वर्थडे केक, पेष्टीकेक, ब्रेड वन, सुख्खा कुकिज, नरिवल बिस्कुट, पाउरोटी लगायत ३० आइटम यस उद्योगमा बन्छ ।

पथरी शनिश्चरे, उर्लाबारी, सुनबर्सी, लेटाङ, कानेपोखरी, बेलबारी नगरपालिकाको बिभिन्न शहर बजारमा न्यू गोखाली पाउरोटी उद्योगमा बनाइएका बिस्कुट दैनिक पुग्छ । पहिला सुइकल पेलेर बजार जानु पर्ने भएपनि अहिले आफनै सवारी साधनबाट बजार पुर्याइदै आएको छ ।
गुणस्तरमा कन्जुसाइ नगरिएको सम्पूर्ण आइटमका बिष्कुट ग्राहकले खोजी गर्दा आफुलाई खुसि लाग्ने गरेको ब्यवसायी तुलसी ढकाल बताउनु हुन्छ ।

स्थापनाकालमा ढकाल सहित गंगा बास्तोला, मित्र ढकाल र ठाकुर प्रसाद आचार्यले संयुक्त रुपमा सुरुवात गर्नु भएको थियो, तर समयन्तरसंगै साथीहरुले ढकाललाई जिम्मा लगाएपछि २०५६ सालबाट अहिलेसम्म निजी ढंगले उद्योग संचालन गर्नु पर्ने जिम्मेवारी पूरा गरिरहनु भएको छ ।
ब्यवसायमा ढकाल दम्पतीलाई छोरा रोशन ढाकालले पूर्ण रुपमा साथ दिंदै आएका छन ।
यो ब्यवसायले ढकाल परिवारलाई प्रतिष्ठा, पैसा, सम्मान र इज्जत दिएको छ । सानै लगानीबाट सुरुवात गरिएको ब्यवसायलाई निरन्तर र समय अनुकुल ढालेर जान सके सफलता पाउन सकिन्छ भन्ने कुराको उदाहरण पनि हो ।

यहि ब्यवसायले नै छोरा छोरीलाई पढाउने, सामाजिक काममा काम गर्ने वातावरण मिलेको छ ।
यो ब्यवसाय संचालन गर्ने क्रममा तुलसी ढकालले आफै साइकल चलाएर उर्लाबारी मधुमल्ला सहित बिभिन्न ठाँउमा बजार बिस्तारका लागि हिडेका थिए ।
शारिरिक दुखलाई उर्जाको रुपमा लिनुहुने तुलसी ढकालको मनोविज्ञानले सफल ब्यवसायी बन्नु भयो, वहाँको ब्यवसाय अझ सफल होस शुभकामना ।







